मनोरञ्जन

गीतकार संघकाे छैटौँ साधारणसभा

गीतकार संघकाे छैटौँ साधारणसभा
पुस - २९ । समाजमा शान्तिपूर्ण सहअस्तित्व कायम गरी समाजलाई पथप्रदर्शन गर्ने गीत सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ । गीतकार सङ्घको छैटौँ साधारणसभामा सहभागी वक्ताले विभिन्न जाति समुदायमा विभक्त नेपाली समाजमा सामाजिक एकताको खाँचो औँल्याउए । वरिष्ठ गीतकार किरण खरेलले मुलुकमा सामाजिक रुपान्तरणका लागि कला, साहित्य तथा गीत–सङ्गीत सशक्त माध्यम भएको विचार व्यक्त गरे । उनले सर्जकले सिर्जना गर्ने गीत तथा सङ्गीतको रोयल्टी वितरण प्रणालीलाई पारदर्शी बनाउन आग्रह गरे। सङ्गीतकार समाजका अध्यक्ष सुरेश अधिकारीले नेपाली समाजको अवस्था तथा स्रोतको मनोभावनालाई बुझेर राम्रो र उत्कृष्ट गीत तथा सङ्गीतको सिर्जना गर्न सकिएमा राष्ट्र एकताबद्ध हुनसक्ने बताए । गीतकार मिलन मोक्तान, तुलसी पराजुली, लक्ष्मण श्रेष्ठलगायतले सो क्षेत्रलाई व्यवस्थित गर्ने निकाय संवेदनशील नहुँदा स्रष्टाको सिर्जनाको चोरी बढ्दै गएकामा चिन्ता व्यक्त गरे । गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहालले मुलुकभर रहेका गीतकारलाई एकताबद्ध गरी उनीहरुका हक, हित तथा अधिकारलाई संरक्षण गर्न संस्था क्रियाशील रहेको बताए । सो संस्थाको साधारणसभाले नयाँ नेतृत्वसमेत छनोट गर्नेछ ।

गीतकार संघ

विशेष