समाज

बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गर्न निर्देशन

बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गर्न निर्देशन
पुस - २९  । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले शुक्रबार मन्त्रालयअन्तर्गतको पञ्जीकरण विभागको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले चुस्तदुरुस्त रुपमा सेवा प्रदान गर्न कुनै कन्जुस्याइँ नगर्न विभागमा कार्यरत कर्मचारीलाई निर्देशन दिए ।सरकारले सामाजिक सुरक्षा भत्ता बापतको रकम समयमै निकासा गरेपनि सम्बन्धित व्यक्तिले पाउन नसकेको उल्लेख गर्दै उनले जसरी भए पनि तेकिएको समयभित्रै सामाजिक सुरक्षा भत्ता वितरण गरिनुपर्ने बताए। मन्त्री पाण्डेले बैंकिङ प्रणालीमार्फत सम्बन्धित व्यक्तिको बैंक खातामा भत्ता वितरणको व्यवस्था मिलाउन निर्देशन दिए । सो अवसरमा विभागका निर्देशक शालिकराम रिजालले जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद र बसाइँसराइँ जस्ता व्यक्तिगत घटनाको दर्ता व्यवस्थापन एवम् नियन्त्रण र सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापनको काम विभागले गर्दै आएको बताए। उनले कुल २१७ नगरपालिकामध्ये ११८ नगरपालिका र १८० गाविसले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको जानकारी दिए । गाउँगाउँमा बैंकको शाखा नभएको र बैंकसम्म लक्षित वर्गको पहुँच नभएकाले पनि बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गर्न नसकिएको उनको भनाइ थियो । सरकारले ज्येष्ठ नागरिक, एकल महिला र विधवालाई मासिक रु एक हजार, पूर्णअपाङ्गता (क) वर्ग र लोपोन्मुख आदिवासी/जनजाति (बनकरिया, राउटे, सुरेल, हायु, राजी, लेप्चा, मेचे र कुसबडिया) जातिका व्यक्तिलाई मासिक रु दुई हजार तथा अशक्त/अपाङ्गता भएका (ख) वर्गका व्यक्तिलाई मासिक रु ६०० र पाँच वर्षमुनिका कर्णाली अञ्चल तथा देशभरका दलित परिवारका दुई सन्तानलाई मासिक रु ४०० सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउँदै आएको छ ।

बैंकिङ प्रणाली

विशेष