देश

मेवाखोला हाइड्रोपावर सञ्चालनः खोटाङ विद्युत्भार कटौतीमुक्त

मेवाखोला हाइड्रोपावर सञ्चालनः खोटाङ विद्युत्भार कटौतीमुक्त
पुस - २९ । जिल्लाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर शुक्रबार उद्घाटन गरिएको छ । दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवाखोलाबाट जलविद्युत् उत्पादन गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जलविद्युत्को उद्घाटन गर्दै उनले चाँडोभन्दा चाँडो चुनाव नगरिएमा संविधान कार्यान्वयन नहुने जिकिर गरे ।  स्थानीय जनप्रतिनिधि नहुँदा गाउँ तथा नगरमा बर्सेनि विकासका लागि पठाइएको अरबौँ रकम दुरुपयोग हुने गरेको बताउँदै उनले अब चाँडोभन्दा चाँडो स्थानीय तहको चुनाव हुनुपर्ने बताए । समुदाय, सानिमा बैंक र बैंक अफ काठमाडौँबाट व्यहोरिएको करिब रु २२ करोडको लागतमा हाइड्रोपावर सञ्चालनमा ल्याइएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताए । विद्युत्भार कटौतीको मार खेपिरहेका खोटाङवासी मेवाखोला हाइड्रोपावर सञ्चालन भएपछि हर्षित बनेका छन् । जिल्लामा २.५ मेगावाट विद्युत् खपत भइरहेकामा मेवा खोलाबाट उत्पादित एक मेगावाट विद्युत् थप भएपछि विद्यत्भार कटौती नहुने बताइएको छ । जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउने लक्ष्यका साथ साप्सु–कालिका हाइड्रोपावर कम्पनी प्रालि काठमाडौँको प्रवद्र्धनमा विसं २०७१ देखि हाइड्रोपावरको काम सुरु गरिएको थियो । विसं २०७२ असोजमा बत्ती बाल्ने भनिएको हाइड्रोपावरको काम लगातार दुई पटक आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण वर्ष दिनपछि सञ्चालनमा ल्याउन सफल भएको आयोजना प्रमुख ललितकुमार राईले बताए । गत मङ्सिर १५ गतेदेपखि परीक्षण प्रसारण गरिएको हाइड्रोपावर आज औपचारिक उद्घाटन गरिएको हो । मेवाखोलाबाट उत्पादित विद्युत् बुइपामा रहेको केन्द्रीय विद्युत् प्रसारण लाइनको सबस्टेसनमा जोेडेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी क्षमताको मेवाखोला हाइड्रोपावर सार्वजनिक, निजी साझेदारी ढाँचामा सञ्चालन गरिएको हो ।

मेवाखोला हाइड्रोपावर

विशेष