समाज

घिउचाकु दलेर नारायण मेला सुरु

घिउचाकु दलेर नारायण मेला सुरु
माघ–१ । माघे सङ्क्रान्तिका अवसरमा शनिबार भक्तपुर नारायण मन्दिरमा मेला लागेको छ । घिउ, चाकु, तिलको लड्डु, हरियो साग, तरुललगायत खाएर मनाइने यस पर्वका दिन शनिबार तौमढीस्थित तिलमाधवनारायण र सूर्यमढीस्थित वाकुपति नारायण मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । ती मन्दिरमा रहेका देवताको शरीरमा घिउ र चाकु लगाइदिने गरिन्छ । गर्भवतीले प्रसादका रुपमा नारायण देवताको नाइटोमाथिको घिउचाकु खाएमा छोरा र नाइटोमुनि लगाइएको घिउचाकु खाए छोरी प्राप्त हुने जनविश्वास छ । नेवारी भाषामा ‘घ्यचाकु सल्हुँ’ भनिने माघको दिन भक्तपुरका चाँगुनारायण, आशापुरी महादेव र डोलेश्वर महादेव मन्दिरमा पनि ठूलो मेला लागेको छ । नुहाइधुवाइ गरी जिउमा तेल घसेर घिउचाकु, तिलको लड्डु, सागपात, तरुल खानाले शरीरमा गर्मीको मात्रा बढ्ने ह्रष्टपुष्ट हुने धार्मिक मान्यता छ । आजैदेखि दिन लामो र रात छोटो हुने तथा जाडो घट्दै जाने जनविश्वास छ । भक्तपुरको तलेजुमा माघीकाे दिन विशेष पूजा गरिन्छ । गुठी संस्थानले उपलब्ध गराएको रकमबाट तलेजुका मूल पुजारी उत्तमाङ्गराज राजोपाध्यायले विभिन्न परिकार चढाई विशेष पूजा गरेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । रासस

माघे सङ्क्रान्ति

विशेष