समाज

जनान्दोलनका घाइतेको एक लाख गायब, कहाँ कसले गायब गर्यो ?

जनान्दोलनका घाइतेको एक लाख गायब, कहाँ कसले गायब गर्यो ?
माघ - १ । सुशील कोइराला प्रधानमन्त्री रहेका बेला राजनीतिक पीडितको स्वास्थ्योपचारका लागि सरकारले सहयोगबापत दिने निर्णय गरेको रु दुई लाखमध्ये जनान्दोलनका एक घाइतेको आधा रकम गायब भएको छ । जनान्दोलनमा घाइते भएका मेचीनगर– ६ धुलावारी बजार निवासी ५६ वर्षीय दिलीप प्रधानले पाउनुपर्ने रकम गायब भएको हो । २०४६ सालको ऐतिहासिक पहिलो जनान्दोलनताका चैत २४ गते काठमाडौँको बागबजारमा पञ्चायतविरुद्ध जुलुसमा सहभागी भएका बेला छातीमा गोली लागेर प्रधान घाइते भएका थिए । उनकाे छातीमा गोलीको दाग बोकिरहेकाले अहिले पनि घाउबाट पिप बगिरहने गरेको बगिरहेकाे छ । प्रधानलाई २०७२ सालमा सुशील कोइराला प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषद्को निर्णयअनुसार दुई लाख रुपैयाँ उपचार सहयोग दिने निर्णय भएको थियो । सो सहयोगमध्ये एक लाख रुपैयाँ झापा जिल्ला प्रशासन कार्यालय मार्फत गत वर्षको माघमा पाएकाे र अरु एक लाख रकम कहाँ कसले गायब ग¥यो भन्ने पत्ता लगाउनै नसकेको उनकाे भनाइ छ । ‘प्रशासन कार्यालय र गृहमन्त्रालयमा धेरै पटक धाएँ’, प्रधान भन्छन्–'अनेक आलेटाले कुरा गरेर मलाई रकम दिएनन् ।' २०७२ माघ ३ गते गृह मन्त्रालयले झापा जिल्ला प्रशासन कार्यालयलाई एक लाख रुपैयाँको चेकसहित सो रकम झापाका जनान्दोलनका घाइते दिलीप प्रधानलाई उपलब्ध गराई भपाई पठाइदिनु भनी निर्देशन समेत दिएको थियो । च.नं.२२२७६३१ को सो पत्रमा पठाइएको एक लाखको चेक उपचार आर्थिक सहयोगबापत प्रधानले पाउने रकमको पेस्की रहेको प्रस्ट उल्लेख छ । तर, त्यसपछि हालसम्म बाँकी एक लाखको अत्तोपत्तो छैन । प्रधानले आफ्ना लागि सरकारले उपलब्ध गराएको बाँकी एक लाख रुपैयाँ खोजी गरिदिन स्थानीय राजनीतिक दलका नेता र सांसदलाई गुहारिरहेकाे उनले बताए ।

जनान्दोलन

विशेष