समाज

जाजरकोटमा सरसफाई रणनीतिक योजना कागजी घोडा

जाजरकोटमा सरसफाई रणनीतिक योजना कागजी घोडा

माघ २ । जिल्लाको सरसफाई रणनीतिक योजना कागजी घोडा बन्दै गएको छ । योजनाले लक्ष्य हासिल गर्न नसक्ने भएपछि सरसफाई रणनीतिक योजना कागजमा मात्र दौडि रहेको घोडा जस्तै बन्ने भएको हो ।

२०७१ सालमा बनाईएको जिल्लाको सरसफाई रणनीतिक योजनाले आर्थिक बर्ष २०७४÷२०७५ मै जाजरकोटलाई पुर्ण सरसफाई जिल्ला घोषणा गर्ने लक्ष्य राखेको छ । तर, हालसम्म एउटा पनि गाविस पुर्ण सरसफाई गाविस घोषणा हुन् सकी रहेको छैन् । एक नगरपालिका र २६ वटा गाविस रहेको जिल्लामा हालसम्म एउटा पनि पुर्णसरसफाई गाविस घोषणा हुन सकिरहेको छैन । आव २०७४÷२०७५ मै सरसफाई जिल्ला घोषणा गर्न नसकिने खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय प्रमुख ईन्जिनियर महेशी महत्वले वताए । जिल्लाको सरसफाई रणनीतिक योजनालाई संशोधन गर्नु पर्ने प्रमुख ईन्जिनियर महत्वले तर्क गरे । केही दिन भित्रै रणनीतिक योजनालाई संशोधन गरेर पुर्णसरसफाई जिल्ला घोषणाको समयावधि थप गर्नु पर्ने महत्वले जानकारी दिए ।

जिल्लामा बनेको सरसफाई रणनीतिक योजनालाई स्थानिय बिकाससंग मुलप्रबाहीकरण गर्न नसक्दा योजनाले लक्ष्य हासिल गर्न नसकेको नागरिक समाजका अगुवा राजेन्द्र बिक्रम शाहले वताए । स्थानिय बिकाससंग जिल्लाको सरसफाई रणनीतिक योजनालाई मुलप्रवाहीकरण गर्नका लागि स्थानिय निकायका प्रमुख र राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरु संम्वेदनशिल बन्नुपर्नेमा जोड दिदै अगुवा शाहले भने “स्थानिय निकायका प्रमुखहरु सम्वेदनशिल नहुदा रणनैतिक योजना कार्यन्वनमा लाग्ने बजेटको ब्यबस्था हुन सकेन, आबश्यक बजेट नभएपछि रणनीतिक योजनाले लक्ष्य हासिल गर्न सकेन ।”

जनप्रतिनीधि बिहीन स्थानिय निकायहरु हुनुका कारण जिल्लाको सरसफाई रणनीतिक योजनाले आफ्नो लक्ष्य हासिल गर्न नसकेको स्थानिय बिकास अधिकारी ईन्द्र गौतमले वताए । हार्डवयरका काममा राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुले जोड दिने र सप्टवयरका काममा ध्यान पनि दिन नसक्ने भएका कारण पनि यस्तो समस्या आएको स्थानिय बिकास अधिकारी गौतमको भनाई रहेको छ । स्थानिय निकायमा भएको सिमित बजेटले असिमित आकाँक्षाहरु पुरा गर्नु पर्ने बाध्यताले पनि सरसफाई रणनीतिक योजनाले प्राथमिकता पाउन नसकेको स्थानिय बिकास अधिकारी गौतमले स्वीकार गरेका छन् । सन् २०२५ सम्म पुर्णसरसफाई देश घोषणा गर्ने सरकारको लक्ष्यलाई सघाउन जिल्लामा सरसफाई रणनीतिक योजना २०७१ निर्माण गरिएको थियो । जिल्लाको पुर्ण सरसफाई अभियानलाई अगाडी बढाउनका लागि जिल्ला बिकास समिति, खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, नगरपालीका, गाविस, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, गैरसरकारी संस्था महासंघ, वार्म–पी हेल्भेटास नेपाल, पहल, सुआहारा र फण्डबोर्ड लगाएतका निकायले विगत केही समय यता aजिल्लामा काम गरिरहेका छन् । तर, हाल सम्म जिल्लाका दुई वटा टोल र चार वटा वडा मात्र पुर्णसरसफाई नमुना गाउँ घोषणा गरिएको छ । भेरीमालिका नगरपालीका वडा नं–१० को नौगाउँलाई भदौं १५ गते, पजारु–८ घोगीलाई असोज १२ गते, झाप्रा–८ राँगा र नल्फुलाई असोज १३ गते, सिमा–९ स्यापीलाई असोज १४ गते, ढिमे–६ छहरागाउँ, सिमलगाउँ र रातीखालीलाई मंसिर १६ गते र भेरीमालिका नगरपालीका–५ ईभरलाई पुस २ गते पुर्णसरसफाई नमुना टोल तथा गाउँ घोषणा गरिएको छ । घोषणा गरिएका गाउँ तथा टोलहरुमा (वार्म–पी) हेल्भेटास स्वीस इन्टरकोपरेसन नेपालको आर्थिक सहयोगमा समुदाय परिचालन तथा प्राविधिक सहयोग हिमालय समाज विकास केन्द्र जाजरकोट र पहाडी क्षेत्र बिकास अभियान जाजरकोटले गरेका छन् ।

पुर्णसरसफाइ जिल्ला, नगरपालिका, गाविस र गाउँ घोषणा गर्नका लागि प्रत्येक घर तहमा नियमित शौचालयको प्रयोग, सावुन पानीले हात धुने बानीको विकास, सधै घर आंगन सफा राख्ने, किटानु रहित खानाका लागि सफा भान्सा घर र सफा तथा सुरक्षित पिउने पानीको ब्यबस्था भएको हुनुपर्ने प्रावधान छ । त्यसैगरि ब्यक्तिगत सरसफाई, घरायसी सरसफाई र वातावरणिय सरसफाईलाई पनि संगै जोडेर लिने गरिएको छ । घरायसी सरसफाईमा घर–घरमा धुवा रहित चुलो, फिल्टर, आँगनमा फोहर खाड्ल, स्टेन र चाङ्ग निर्माण गरेको हुनु पर्ने वताईएको छ भने, बाताबरणिय सरसफाईमा खानेपानी धारा, सौचालय निर्माण, बाटोघाटो सफा जस्ता कुराहरुलाई मान्यता दिने गरिएको छ ।

२०७१ साल पुस १८ गते देशकै २४ औं र भेरी अञ्चलकैं पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको जाजरकोटलाई सन् २०१७ भित्रै पुर्णसरसफाई जिल्ला घोषणा गर्ने सरसफाई रणनीतिक योजनाले लक्ष्य हासिल गर्न नसक्ने भएपछि रणनीतिक योजनालाई कागजी घोडाको संज्ञा दिन थालिएको छ ।

Jajarkot

विशेष