कभर स्टोरी समाज

नेतादेखि अभिनेतासम्मले गर्छन् आत्महत्या, यो डरलाग्दो समस्याबाट कसरी मुक्त हुने ?

नेतादेखि अभिनेतासम्मले गर्छन् आत्महत्या, यो डरलाग्दो समस्याबाट कसरी मुक्त हुने ?

मानिसलाई सबैभन्दा प्यारो लाग्ने के होला ? सजिलै भन्न सकिन्छ–आफ्नै ज्यान । तर, तथ्यांक भन्छः विश्वमा बर्सेनि दश लाखले आफ्नो जीबन आफैंले अन्त्य गर्छन् । अर्थात आत्महत्या गर्छन् । प्रत्येक ४० सेकेण्डमा एक जना व्यक्तिले आत्महत्या गरिरहेको हुन्छ । तपाईले यति पढुन्जेल कसैले आत्महत्या गरिसकेको छ ।

विश्वभरका व्यक्तिका लागि सपनाको भूमि ठानिएको अमेरिकामा मात्रै ३५ हजार व्यक्तिले बर्सेनि आत्महत्या गर्छन् । नेपालमा पनि आत्महत्या गर्नेको संख्या बढ्दो छ ।

पछिल्लो समय विश्वभर नै आत्महत्या गर्ने टे«न्ड बढ्दो छ र विश्वप्रसिद्ध कलाकारको आत्महत्याले समयसमयमा संसारभरको मिडियाको ध्यान तान्ने गर्छ । भर्खरै मात्र नेपालका चर्चित ¥यापर ‘यमबुद्ध’ (अनिल अधिकारी)को आत्महत्याले नेपाली कलाकारिता क्षेत्रमा तरंग ल्याएको छ । बलिउडमा पनि आत्महत्या गर्ने कलाकारहरु धेरै छन् । ती मध्ये प्रत्युषा बेनर्जी र नायिका जिया खानको आत्महत्याले बलिउडमा तरंग ल्याएको थियो ।

नेपालमा समेत सेलिब्रेटीहरुको आत्महत्याको श्रृंखला बढ्न पछिल्लो समय बढ्न थालेको छ । प्रशिद्धी र पैसा दुवै कमाएका यस्ता सेलिब्रेटीलाई देखेर आफ्नो जीवन पनि यस्तै भैदियोस् भन्ने प्रशंसकसमेत सेलिब्रेटीको आत्महत्याले चकित पर्ने अवस्था छ । र्‍यापर यमबुद्धको आत्महत्याले यसबेला नेपाली संगीत क्षेत्र गरंगीत छ । केही अघि सिने क्षेत्रका चर्चित निर्देशक आलोक नेम्बाङले आत्महत्या गरे । कलाकारले आत्महत्या गरेपछि आत्महत्या गर्नुका कारणबारे विभिन्न कोणबाट चर्चा हुन्छ । र, केही समयपछि सेलाउँछन ।तर, बास्तविक आत्महत्या गर्नुका कारण पत्ता लाग्दैनन् । को को छन त आत्महत्या गर्ने नेपाली सेलीब्रेटी ?

यम बुद्ध यमबुद्ध नेपाली युवामाझ अत्यन्तै चर्चित थिए । उनका गीतका प्रशंसकहरु धेरै छन् । शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन । २९ बर्षीय गायक आफ्नी पत्नीसहित लन्डनमा बस्दै आएका थिए ।

उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार सदस्यले पुष्टि गरेको छ । उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ । उनले आत्महत्या गर्नुको कारण खुलेको छैन ।

सन् २०१२ तिर यमबुद्धको चर्चा खुबै चुलिएको थियो । बेलायत गएपछि विगत जस्तो प्रगति नभएको र बढ्दो तनावले पनि उनमा एकखालको वितृष्णा भएको हुनसक्ने उनको निकटस्थहरुले बताएका छन् ।

उनी सन् २००९ मा विद्यार्थी भिजामा लन्डन गएर सन् २०११ मा नेपाल फर्किएका थिए । बिहेपछि २०१४ मा उनी स्पाउज भिजामा यूके गएका थिए ।

अधिकारी नयाँ एल्बम ‘खतरा’ समेत छिट्टै बजारमा ल्याउने तयारीमा थिए । उनको ‘मेरो जुत्तामा’, ‘साथी’, ‘आउँदैछु म’, ‘फुटपाथ मेरो घर’, ‘यो प्रसंग’, ‘दिदी’, ‘अन्त्यको सुरुवात’, ‘नाचन’, ‘आमा’ लगायत कयौं गीत हिट छन् ।

आलोक नेम्बाङ नेपाली सिने क्षेत्रलाई स्तब्ध पार्दै पछिल्लो पटक आत्महत्या गरेका निर्देशक हुन् आलोक नेम्बाङ । एक्लोपनको कारण आत्महत्याको बाटो रोजेको भनेर नेम्वाङको आत्महत्याको कारण देखाईएको थियो ।

४३ वर्षको उमेरमा पनि विवाहको चाहना नदेखाउनुले पनि उनी जीवनदेखि निराश थिए भन्ने आत्महत्यापछि उनको सहकर्मीले बताएका थिए । आत्महत्यापछि भेटिएको उनको ‘सुसाइट नोट’ले पनि यही कुरा पुष्टि गरेको थियो । तर, उनले किन आत्महत्या गरे भन्नेबारे ठोस कारण अझैसम्म प्राप्त भएको छैन ।

श्रृषा कार्की १२ वर्षअघि आत्महत्या गरेकी अभिनेत्री कार्कीले पत्रिकामा छापिएको नग्न तस्बिरले अपमानित भएको महसुस गरेर आत्महत्या गरेको भनिन्छ । एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी कार्कीको आत्महत्याको वास्तविक कारण अहिले सम्म खुल्न सकेको छैन । जनआस्था साप्ताहिकमा श्रृषाको नग्न तस्विर प्रकाशित भएको थियो । जसका कारण चलचित्र क्षेत्र आन्दोलित हुन पुगेको थियो ।

जेसिका खड्का जेसिका खड्काको टेलिभिजनको हास्य कार्यक्रममा अभिनय गर्दा गर्दै यौन भिडियो सार्वजनिक भएको थियो । यद्यपि सो भिडियो सार्वजनिक भएको लामो समयसम्म पनि नेपाली चलचित्र क्षेत्रमै रहेकी उनले अन्ततः आत्महत्याको बाटो रोजिन् । उनले विष सेवन गरी आत्महत्या गरेकी थिईन । उनको आत्महत्याको रहस्य पनि खुल्न सकेको छैन ।

बलिउड र हलिउड कलाकारको नाम जोड्ने हो भने आत्महत्याको लिस्ट लामो हुन आउछ । चर्चित पप गायक माईकल ज्याक्सनले आत्महत्या गरका थिए । नेपालका अन्य क्षेत्रका व्यक्तिहरु भरतराज उप्रेती, योगमाया न्यौपाने ,सुन्दरे थापा, भिमसेन थापा र विश्वजित मल्लको आत्महत्या अझैसम्म चर्चित र रहस्यमै छ ।

विश्वभरिका आत्महत्याका प्रकृति र कारणहरु धेरै नै जटिल रुपमा पाईएको छ । त्यसैले, धेरै विश्वप्रसिद्ध हस्तीहरुको आत्महत्या अझैसम्म रहस्यको गर्भमै छ । नेतादेखि अभिनेता,करोडपति देखि रोडपति विद्यार्थी र सामान्य कर्मचारी र कृषकहरुले आत्महत्या गरेका छन् । किन गर्छन त आत्महत्या ? के कारण हुन सक्छ त आत्महत्याको ?

डिप्रेसन र आत्महत्या विभिन्न अनुसन्धानले देखाए अनुसार आत्महत्याको प्रमुख कारण डिप्रेसन हो । आत्महत्या गर्ने ७५ प्रतिशत मानिसमा डिप्रेसन हुन्छ । डिप्रेसन साझा मानसिक समस्या हो । डिप्रेसनको समस्या भयावह छ । कूल जनसंख्याको ३० प्रतिशतलाई कुनै न कुनै किसिमको डिप्रेसन छ । यो हिसावले हेर्दा झण्डै एक करोड नेपालीमा सामान्यदेखि जटिलसम्मको डिप्रेसन छ ।

आत्महत्या गर्नुका जोखिमपूर्ण कारणहरु आत्महत्या एउटा विश्वव्यापी समस्या हो । डिप्रेसन, निरासा, सामाजिक सहयोगमा कमी, आर्थिक समस्या, पारिवारिक सम्बन्ध टुट्नाले पनि आत्महत्याका घटनाहरु वढेका विभिन्न अनुसन्धानहरुले देखाएको छ । वैदेशिक रोजगारमा गएका व्यक्तिका श्रीमतीमा डिप्रेसनको समस्या बढी देखिने गरेको छ । मानसिक समस्या बल्झदै गएपछि उनीहरुले आत्महत्या गरेको देखिन्छ । बैदेशिक रोजगारमा जानेको संख्या बढेझैं आत्महत्या गर्ने महिलाको संख्यापनि बढेको देखिन्छ । मानसिक सन्तुलन विग्रनाले तथा लागुपद्धार्थको लतका कारणले पनि आत्महत्याको घटना बढ्ने गरेको छ । कलेज पढ्दै गरेका विद्यार्थीमा आत्महत्याको जोखिम बढ्दो छ ।

आत्महत्या र समाजबीचको सम्बन्ध प्रसिद्ध समाजशास्त्री तथा मानवशास्त्री इमाइल दुर्खिमले आत्महत्याको कारण समाजलाई मानेका छन । समाजको रीतिरिवाज, संस्कृति र सामाजिक घटनाले आत्महत्याका लागि मनोविज्ञान तयार गरिदिन्छ । वरिष्ठ मानवशास्त्री डाःओम गुरुङका अनुसार समाजका रीतिरिवाज, चालचलन र नीतिनियममा आफूलाई समायोजन हुन नसकेर वा राजनीतिक, आर्थिक तथा सामाजिक दवाव झेल्न नसकेर आत्महत्या गर्नेहरु धेरै छन ।

यसरी बचाउन सकिन्छ आत्महत्याको नजिक पुगेका मानिसलाई मानसिक रोग विशेषज्ञ डा निराकारमान श्रेष्ठका अनुसार डिप्रेसन भएको मानिसलाई एकान्तमा बस्न नदिने, सामाजिक, आर्थिक दवावहरु सृजना हुन नदिने गर्नुपर्छ । समाजमा घुलमिल गराउने, सधै उनीहरुको कुरा सुनिदिने, समस्या पत्ता लगाएर त्यसको समाधानको लागि प्रयास गरिदिनुपर्छ ।

किशोरकिशोरी वढि आवेगमा आएर आत्महत्या गर्ने हुँदा उनीहरुलाई विशेष ध्यान दिनु जरुरी छ । युवाहरुमा प्रेमसम्बन्ध र शारीरिक सम्बन्धबीच टकराव आउँदा आत्महत्या गर्ने सम्भावना बढी हुन्छ । योग, ध्यान तथा नयांँनयाँं ठाउँंको घुमफिरले मानिसको मन हलुका हुन्छ र आत्महत्याबाट बच्न सहयोग पुग्छ ।

प्रस्तुति : सागर बुढाथोकी

विशेष