मनोरञ्जन

कृष्ण सुवेदीको मृत्युमा दीपकराज दोषी कि निर्दोषी !

कृष्ण सुवेदीको मृत्युमा दीपकराज दोषी कि निर्दोषी !
माघ–३ । चलचित्र छक्का पञ्जाले नेपाली चलचित्र बजारमा व्यापारबाट चर्चा सेलाउन नपाउदै आत्महत्याको माध्यमबाट विवादमा परेको छ । महिला निर्देशक दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रले सय दिन मनाएर नयाँ रेकर्ड पनि कायम गर्यो । तर, सय दिन मनाएको उल्लासकै बीच चलचित्र पाइरेसी भएर युट्युव मार्फत सार्वजनिक भयो । ‘छक्का पञ्जा’ पाइरेसी भएपछि युट्युबमार्फत चलचित्र आधिकारिक रूपमा सार्वजनिक पनि गरियो । यही क्रममा ‘छक्का पञ्जा’को पाइरेसी मुद्दा खेपिरहेका युवामध्येका एक कृष्ण सुवेदी ले आत्महत्या गरे । विदेशमा रहेका निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो चलचित्र पाइरेसी भएर विदेशमा देखाउन नपाएको गुनासो सहितको फेसबूक स्टाटस लेखेका थिए । उनले स्टाटसमा दोषीलाई कानून अनुसारको कारवाही हुने कुरा पनि उल्लेख गरेका थिए । सुवेदीले लेखेको सुसाइड नोटको आधारमा उनको परिवारले यो आत्महत्या नभई हत्या भएको आरोप लगाएको छ । यही कुरालाई लिएर सामाजिक सञ्जालमा दीपकको चर्को आलोचना भइरहेको छ । ‘छक्का पञ्जा’को टोलीमाथि सुवेदीलाई धम्क्याएको आरोप लाग्यो । यता दीपकले फेसबूकमा स्टाटस लेख्दै आफू दोषी देखिए सजाय भोग्न तयार भएको समेत प्रस्ट पारे । हास्यकलाकार केदार घिमिरे (माग्ने बूढा)ले दीपकलाई आफूले धेरै पहिलेबाट चिनेको बताउँदै उनी अरूलाई धम्क्याउने खालको मान्छे नभएको बताएका छन् । दीपकले यसभन्दा पहिले एक युवाले चलचित्र पाइरेसी गर्दा पनि उसको जिन्दगी बिग्रन्छ भनेर सामान्य चेतावनी दिएर छाडिदिएको स्मरण गरेका छन् । ‘आरोप सत्य प्रमाणित भएमा सजाय भोग्छु भन्दाभन्दै पनि आरोप लाग्दैमा मानिसले यसरी गाली नगरेको भए हुन्थ्यो’ उनले फेसबुकमा दुखेसो पोखेका छन् । आत्महत्या भएको हो कि हत्या हो भन्ने विषयमा प्रहरीले अझै अनुसन्धान गरिरहेको छ ।

Chhakka Panja Deepakraj Giri Krishna Subedi

विशेष