समाज

राष्ट्रपति कार्यालयमा पूर्वराजा आकर्षण

राष्ट्रपति कार्यालयमा पूर्वराजा आकर्षण

माघ ४ । शीतल निवासमा अघिल्लो दिनसम्म राष्ट्रपति विद्या भण्डारीकी छोरी र पूर्वसांसद किरण यादवका छोराबीच हुने बिहेको चर्चा थियो तर सोमबार भने अधिकांश आगन्तुकको जिज्ञासा अर्कै रह्यो– निम्ता मान्न पूर्व राजा शीतल निवास आउलान् कि नआउलान् ।

राष्ट्रपति कार्यालयको कोसी हलमा विवाहित जोडीलाई बधाई र शुभकामना कार्यक्रम भइरहँदा सोमबार धेरैको चासो ढोका बाहिरै थियो ।

धेरैजसो पाहुना तथा सहभागी एकआपसमा जिज्ञासा राख्थे, ‘पूर्वराजा कतिबजे आउँछन् रु’ राष्ट्रपति कार्यालयका कर्मचारी पनि भन्दै थिए, ‘उहाँ आउने कार्यक्रम छ ।’

लामो समय राष्ट्रप्रमुख भएका पूर्वराजा ज्ञानेन्द्र धेरैको उत्सुकतालाई चिर्दै सोमबार मध्यान्ह साधारण निम्तालुसरह शीतल निवास प्रवेश गरेर वरबधुलाई बधाई दिए । त्यसपछिका २० मिनेट पूर्वराजा नै त्यहाँका प्रमुख आकर्षण बनिरहे । उपस्थित धेरैले मोबाइलबाट उनको तस्वीर खिचे ।

मध्यान्ह १२ बजेर ३५ मिनेट जाँदा राष्ट्रपति कार्यालय पुगेका पूर्वराजा गाडीबाट ओर्लिएर सीधै कोसीहल प्रवेश गरे । त्यसबेला राष्ट्रपति भण्डारी विवाहित जोडीसँगै बधाई र शुभकामना ग्रहण गर्न व्यस्त थिइन् ।

पूर्वराजाले वरबधुलाई बधाइ र शुभकामना दिए । त्यसपछि भण्डारी सामून्ने पुगे । दुबैले एकअर्कालाई नमस्कार गरे । ज्ञानेन्द्रले राष्ट्रपतिलाई पनि बधाइ दिए । जवाफमा उनले ‘धन्यवाद’ भनिन् । यत्तिकैमा सकियो बधाइ कार्यक्रम ।

अन्नपूर्ण पोस्ट

Gyandra Shaha

विशेष