खेल

दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस रुस्लान कप क्रिकेटको फाइनलमा

दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस रुस्लान कप क्रिकेटको फाइनलमा

माघ ४ । नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको फाइनलमा फेरि आमने सामने हुने भएका छन् । गतवर्ष पहिलो संस्करणमा पनि दुई टोलीले फाइनल खेल्दा पुलिस विजेता बनेको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी प्रतियोगिताको सोमबार सम्पन्न सेमिफाइनलमा पुलिसले बुटवलको न्यू होराइजन क्रिकेट क्लबलाई ७ विकेट र आर्मीले सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) लाई ७० रनले पराजित गरेपछि उपाधि भिडन्त पक्का गरेका हुन् ।

टस हारेको न्यू होराइजन पूरा २० ओभर खेलेर ८२ रनमा अलआउट भयो । ओपनर शंकर रानाले १६ र कृष्ण कार्कीले नटआउट २५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । कृष्णले २७ बल खेली ३ चौका प्रहार गरे ।

पुलिसका दीपेन्द्रसिंह ऐरी ३ विकेट लिँदै म्यान अफ द म्याच भए । उनले ४ ओभरमा १५ रन खर्चे । ललित भण्डारी, रामनरेश गिरी, कुशल भुर्तेल, सुनील धमला र कप्तान मन्जित श्रेष्ठले १–१ विकेट लिए । सुनील धमलाले ३६ रन बनाएपछि पुलिसले १७.४ ओभरमै लक्ष्य पूरा र्गयो ।

त्यस्तै सोमबार नै भएको अर्को खेलमा आर्मीलाई सागर पुनको अलराउन्ड प्रदर्शनको साथ रह्यो । सागरले ७५ रन बनाएपछि टस जितेको आर्मीले ६ विकेट गुमाई १ सय ८७ रन जोड्यो । उनले ५२ बल खेल्दा ८ चौका र १ छक्का प्रहार गरे । जवाफमा एसपीएले ७ विकेट गुमाई १ सय १७ रनमात्र बनाउन सक्यो । ओपनरद्वय विजय राणाले ३८ र रोमन बमले २५ रन बनाए ।

Ruslan Cup

विशेष