माघ १५ गतेभित्र ऐन दिए जेठ पहिलो हप्ता निर्वाचन : निर्वाचन आयुक्त
माघ - ४ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सरकारले यही माघ १५ गतेसम्म निर्वाचनसम्बन्धी ऐनकानुन दिए आगामी जेठ पहिलो हप्तामा निर्वाचन गर्न सम्भव रहेको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा डा यादवले भने– “निर्वाचनका लागि पुरानो ऐन, कानुनअनुुसार तयारी थालेका छौँ, नयाँ ऐन, कानुन दिए त्यसअनुसार काम अगाडि बढाउँछौँ ।”
प्रमुख आयुक्त डा यादवले २०७० सालको संविधानसभाको निर्वाचनपछि बनेको पहिलो सरकारको प्राथमिकता छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउने भन्ने रहेकामा अहिलेसम्म हुन नसक्नु दुःखद रहेकाे बताए ।
उनले निर्वाचनका लागि मतदाता नामावली, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतदानस्थल, मतदान, मतपेटिका, मसलन्द र मानव संसाधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको जानकारी दिँदै भने– “सरकारले निर्वाचनको बाटो बनाए हामी अहोरात्र खटेर काम गर्न तयार छौँ ।”
डा यादवले स्थानीय तहको निर्वाचन एकै पटक सम्भव नभएको र चरणबद्ध निर्वाचनका लागि सुरक्षा निकायसँग छलफल भइरहेको बताए । उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै पटक सम्भव नभएको पनि स्पष्ट गरे।
निर्वाचन
सरकार