समाज

दूधकोसी नदीमा निर्माणधीन जयरामघाट पुलको ८५ प्रतिशत काम पूरा

दूधकोसी नदीमा निर्माणधीन जयरामघाट पुलको ८५ प्रतिशत काम पूरा

माघ ५ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा निर्माणाधीन पुलको ८५ प्रतिशत काम पूरा भएको ठेकेदार कम्पनीले जनाएको छ ।

दुई वर्षभित्र पूरा गर्ने शर्तमा २०६६ भदौमा सम्झौता गरिएको जयराम पुलको अहिलेसम्म ८५ प्रतिशत काम पूरा भएको छ । ठेकेदार कम्पनीले आगामी तीन महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको पुलका लागि क्याट–वे (मेन लट्ठा टाँग्न आवश्यक) लट्ठा राख्न सुरु गरिएको कालिका कन्स्ट्रक्सनका साइड इन्जिनियर सीताराम कार्कीले बताए । ’पुलको मेन लट्ठा राख्न झोलुङ्गे पुलको जस्तै क्याट–वे बनाउनुपर्ने हुन्छ,’ उनले भने, ’अहिले त्यही क्याट–वेको प्लेटफर्म बनाउन लट्ठा राख्ने काम भइरहेको छ ।’

क्याट–वेको काम पूरा भएपछि दुई महिनाभित्र मुख्य लट्ठा राख्ने काम पूरा गर्ने लक्ष्य राखिएको इन्जिनियर कार्कीको भनाइ छ । क्याट–वेका लागि आवश्यक आठ वटामध्ये तीनवटा लट्ठा राख्ने काम सकिएको छ ।

जयराम पुल निर्माणका लागि विक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले जिम्मा लिएको हो ।जयरामघाटको पुल निर्माणमा भइरहेको ढिलाइप्रति जिल्लावासी आक्रोशित बनेका छन् । राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्ला जोड्ने मुख्य नाका जयरामघाटमा अहिले अस्थायी बेलिब्रिज जडान गरिएको छ ।

हिउँदभर सञ्चालन हुने बेलिब्रिज जडान गर्दा वार्षिक रु ६० लाख बढी राज्यकोषको रकम खर्च हुने गरेको छ । बेलिब्रिज झिकेपछि खोटाङ जिल्ला छ महिना राजधानी तथा तराईका जिल्लाबाट यातायातबाट बिच्छेद हुने गरेको छ ।

Jairamgha Pool

विशेष