समाज स्वास्थ्य

अमेरिकाको अस्पतालमा रामवरणले भने, ‘धेरै खर्च मेरो गरिब देशले धान्न सक्दैन’

अमेरिकाको अस्पतालमा रामवरणले भने, ‘धेरै खर्च मेरो गरिब देशले धान्न सक्दैन’

माघ ५ । पूर्वराष्ट्रपति डा. रामवरण यादवको सेवा सुविधासम्बन्धी व्यवस्था सरकारले अझै टुंग्याउन सकेको छैन । पूर्वराष्ट्रपतिकालागि सरकारले लिइदिएको घरमा घरधनी ‘किचकिचे’ परेपछि सो घर पूर्वराष्ट्रपति रामवरण यादवले छाडिसकेका छन् ।

अहिले सरकारले पूर्वराष्ट्रपतिका लागि चालक, गाडी, घरभाडा, पानी र बिजुलीको बिल तिरिदिँदै आएको छ । चालक र गाडी दिएको भए पनि सरकारले इन्धन, मर्मत, सचिवालय आदिको सुविधा दिएको छैन । पूर्वराष्ट्रपतिका छोरा तथा सांसद डा. चन्द्रमोहन यादव भन्छन्, ‘उहाँलाई देश विदेशबाट फोन आउँछ, मानिसहरु भेट्न आउँछन्, विभिन्न कार्यक्रमकालागि निम्तो उत्तिकै आउँछ । पदमा नरहँदा पनि पुरानो स्टाटसका कारण आम मानिस जस्तो हुँदो रहेनछ ।’

चन्द्रमोहनले सरकारले पूर्वराष्ट्रपतिकालागि केही नगरेको चाहिँ भन्न नमिल्ने बताए । उनले भने, ‘बुवाको उपचारकालागि सरकारले सबैभन्दा सुविधासम्पन्न ठाउँमा लगिदियो । राम्रो उपचार पनि भयो । असन्तुष्टि मात्रै गर्नु पर्ने कारण छैन । तर पूर्वराष्ट्रपति एक व्यक्ति मात्रै हुँदो रहेनछ ।’

पुरानो स्टाटसले पछ्याइरहने भएकोले सरकारले त्यतातर्फ ध्यान दिनु पर्ने यादवको मत छ । उनले भने, ‘पूर्वराष्ट्रपतिहरुले पाउने सुविधा बारे विधि बन्दा राम्रो हुन्छ । अरु देशको चलन हेरेर आफ्नो देशको हैसियतअनुशार नियम बनाउनु पर्छ । त्यसो गर्न सक्दा गणतन्त्र संस्थागत गर्न पनि सघाउ पुग्छ ।’

पूर्वराष्ट्रपति डा. रामवरण यादवले सीतलनिवास छाडेको १५ महिना भइसकेको छ । पूर्वराष्ट्रपतिले पाउने सेवा सुविधा बारे स्पष्ट विधि नहुँदा यो विषय अहिले थन्किरहेको छ । १५ महिना यता सरकारले दिएको उल्लिखित सुविधाबाहेक भत्ता, सचिवालय, पत्रपत्रिका, सञ्चार आदिको सुविधा यादवलाई दिइएको छैन ।

उपचारको १९ हजार डलर फिर्ता हुने पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखापरेपछि उनको अमेरिकाको मिसिगनस्थित हेनरी फोर्ड हस्पिटलमा उपचारकालागि लगिएको थियो । त्यहाँ अस्पतालले ३५ हजार डलर जम्मा गर्न यादव परिवारलाई भन्यो । सरकारले त्यो रकम जम्मा गरिदियो । त्यसमध्ये १९ हजार डलर फिर्ता दिने हस्पिटलले बताएको छ । यस सम्बन्धमा पूर्वराष्ट्रपति यादवका छोरा चन्द्रमोहनले भने, ‘हामीले पनि परराष्ट्र मन्त्रालयमार्फत सुनेको कुरा हो । पैसा कहिले, कति र कसको खातामा फिर्ता हुन्छ थाहा छैन । हाम्रै खातामा जम्मा भयो भने पनि त्यो हामीले लगेर सरकारलाई नै बुझाउने हो ।’

अमेरिकाको अस्पतालमा रामवरणले भने, ‘धेरै खर्च मेरो गरिब देशले धान्न सक्दैन’ प्रोस्टेटको उपचारका लागि डा. रामवरण यादवसँगै उनका छोरा चन्द्रमोहन पनि गएका थिए । अमेरिकाको हेनरी फोर्ड भन्ने सुविधा सम्पन्न अस्पतालमा उपचार र खर्चको कुरा भयो । अस्पतालका पदाधिकारीहरुले खर्चबारे जानकारी दिए । त्यो क्रममा रामवरणले अस्पतालका अधिकारीहरुलाई भने, ‘आवश्यक भन्दा बढी खर्च नहोस् । मेरो उपचारको खर्च सरकारले व्यहोर्छ । गरिब भएकोले धेरै खर्च गर्न मेरो देशले सक्दैन ।’

चन्द्रमोहन भन्छन्, ‘एकिन त भन्न सक्दिनँ, सायद बुवाको त्यो भनाइका कारण अस्पतालले छुट दिएको हो कि जस्तो चाहिँ लागेको छ ?’

विशेष