देश

त्रिशूलीमा बेपत्ता ट्यांकर भेटियाे, चालक मृत

त्रिशूलीमा बेपत्ता ट्यांकर भेटियाे, चालक मृत
माघ - ५ । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चण्डिभञ्ज्याङ गाविस-५ कालिखोलाबाट गएराति त्रिशूलीमा खसेर बेपत्ता भएको ट्यांकर भेटिएको छ । ट्यांकरको सिटमा चालकसमेत मृत अवस्थामा भेटिएका छन् । काठमाडौंबाट बारातर्फ जाँदै गरेको ना ४ ख ४१४३ नं को ट्यांकर राति १२ बजेतिर त्रिशूली नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत भेटिएका चालक बारा जिल्ला अमलेखगन्ज निवासी २६ वर्षीय उमेश तामाङ भएको बताएको छ । घटनास्थलबाट करिब एक किलोमिटर पश्चिमतर्फ नदीको बीच भागमा ट्यांकर फेला परेको हो । प्रहरी उपरीक्षक दीपक थापाका अनुसार स्टेरीङ्मा च्यापिएको अवस्थामा चालक भेटिएका हुन । पानीले ट्यांकरको पछाडिको भागमाथि उठाएकाले फेला पान सहज भएको र ट्यांकरलाई किनारामा तानेर हेर्दा चालक मृत भेटिएको उनले बताए । ट्यांकरका सहचालक अमलेखगन्जकै प्रदीप लामा भने पौडी खेलेर बाच्न सफल भएका छन् । दुर्घटनामा परी उनको खुट्टा भाँचिएको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसलाई उछिन्ने क्रममा ट्यांकर त्रिशूलीमा खसेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले रातिदेखि नै ट्यांकर र चालकको खोजीकार्य जारी राखेका थिए ।

Trisuli River

विशेष