Technology

माघ २२ गतेदेखि प्रिपेड मोबाइलमा पनि फोरजी सेवा, १ वर्षभित्र देशैभर

माघ २२ गतेदेखि प्रिपेड मोबाइलमा पनि फोरजी सेवा, १ वर्षभित्र देशैभर
माघ – ४ । नेपालको दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकमले यही माघ २२ गतेदेखि जिएसएम प्रिपेड मोबाइलमा समेत फोरजी सेवा उपलब्ध गराउने जनाएको छ । गत पुस १७ गतेदेखि १८०० मेगाहर्ज ब्याण्डमा काठमाडौं उपत्यका र पोखराबाट पोष्टपेड मोबाइलमा फोरजी सेवा सुरु गरेको थियो । टेलिकमले माघ २२ गते वार्षिकोत्सवको अवसर पारेर प्रिपेड मोबाइलमा समेत फोरजी सेवा विस्तार गर्ने तयारी गरेको नेपाल टेलिकमकी महाप्रबन्धक कामीनी राजभण्डारीले बताइन् । व्यवस्थापिका संसदको विकास समितिमा बोल्दै उनले एक वर्षभित्र देशैभर फोरजी सेवा विस्तार गरिने बताइन् । पुस १७ देखि शुरु गरिएको फोर–जी सेवा करिब १५ दिनमै ४१ हजार सेवाग्राहीले लिइसकेको र सेवा लोकप्रिय बन्दै गएको उनले जानकारी दिइन् । साथै टेलिकमले वार्षिकोत्सवकै अवसर पारेर कल रिङ ब्याक टोन सेवा समेत पुनः सुचारु गर्ने तयारी गरेको छ । केही समयअघि सञ्चालनमा रहेको उक्त सेवा बन्द भएको थियो । उनले आइफोनका प्रमुख कार्यकारी अधिकृतलाई पत्राचार गरिकसकेको र चाँडै नै त्यसको सकारात्मक पतिक्रिया आउने विश्वास रहेको बताइन् । एप्पल कम्पनीको आइफोन–६ र आइफोन–७ सिरिजका मोबाइलमा फोरजी सपोर्ट गरेको छैन । टेलिकमले करिब ३९ करोडको लगानीमा काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा सुचारु गरेको थियो । कम्पनीले यसका लागि काठमाडौंका ३ सय ८ र पोखराका ७९ ओटा बिटिएस टावरहरुको स्तरोन्नती गरेको थियो ।

4G

विशेष