खेल

इन्डोर क्रिकेट खल्ने इच्छा छ ? नियम जान्नुहोस्, खेलको मज्जा लिनुहोस्

इन्डोर क्रिकेट खल्ने इच्छा छ ? नियम जान्नुहोस्, खेलको मज्जा लिनुहोस्

इन्डोर क्रिकेट (क्रिकसल) हल                             ।                 फुटसल[/caption]


जताततै अग्ला अग्ला घर ठडिएको छन् । खाली ठाउँको अभाव छ । विभिन्न खेलका लागि चाहिने जमीन प्रयाप्त छैन । जसका कारण ठूला ठूला मैदानमा खेलिने कतिपय खेलहरु पछिल्लो समय साँघुरिएर साँघुरा ठाउँमा खेल्न थालिएको छ । ९० मिटर चौडाइ र १२० मिटर लम्बाइको मैदान खेलिने फुटबल खुम्चिएर २०–४० मिटरको फुटसलमा खेलिन थालिएको छ । पछिल्लो सयम फुटबल साँघुरिएर फुटसल भए जस्तै क्रिकेट पनि क्रिकसल (इन्डोर क्रिकेट)मा परिणत भएको छ । १२०–२०० मिटरको फिलडमा खेलिने क्रिकेट खेल्नका लागि खाली जमीन अभावकै कारण १२ मिटर चौडाइ र ३० मिटर लम्बाइ भएको साँघुरो हलमा खेलिन थालिएको हो । नेपालमा भने इन्डोर क्रिकेट भर्खर सुरु भएको हो । तर, विश्वका अन्य विकसित देशहरुमा भने इन्डोर क्रिकेटको वल्र्डकप पनि चल्न सुरु भइसकेको छ । क्रिकेट भन्दा इन्डोर क्रिकेट केही भिन्दै तरिकाले खेलिन्छ । यसका नियमहरु पनि केही मात्रामा फरक छन् । यदी कोही पनि इन्डोर क्रिकेट खेल्ने इच्छा राख्छ भने त्यो भन्दा पहिला यसका नियम र खेल्ने तरिकाका बारेमा जानकार हुनु पर्दछ ।



इन्डोर क्रिकेट (क्रिकसल)का नियमहरु टीम र मैदान सर्वप्रथम यस खेलको लागि २८ देखि ३० मिटर लम्बाई र १० दशमलब ५ देखि १२ मिटर चौढाई भएको हल चाहिन्छ । हलको उचाइमा भने ४.५ मिटर माथि नेटले छोपेको हुनुपर्छ जहाँबाट क्रिकेट बल बाहिर जान पाउँदैन । यस हलको मैदानमा क्रिकेट मैदानजतिकै २२ यार्ड (२०.१२ मि) लामो पिच हुन्छ । तर, रनिङ पिच भने केवल ११ मिटरको मात्र हुन्छ । यसको मतलब ब्याट्सम्यानले रन बटुल्दा आधा पिचमात्र दौडिनु आवश्यक छ । यसका लागि एउटा रेखा तानिएको हुन्छ । खेल्ने सामग्रीमा भने ब्याट त्यही हुनेछ बल भने बाहिरी मैदानमा खेल्नेभन्दा नरम खालको हुन्छ । विकेटमा स्प्रिङ जडान गरिएको हुन्छ । स्प्रिङले विकेट लागेर ढलेपछि पुनः आफैँ पुरानै स्थानमा ल्याउँछ । प्राय एक टोलीमा ८ खेलाडीहरु रहेका हुन्छन् । हरेक खेलाडीले २ ओभर बल गर्नपर्ने हुन्छ । पार्टनरसिपमा ४ ओभर ब्याटिङ गर्न पाइन्छ । एक इनिङमा १६ ओभरको खेल हुनेछ । यदि एक टोलीबाट ८ जना खेल्छ भने एक ओभरमा ८ बल गरिन्छ । त्यही नियम अनुरुप ६ खेलाडी छन् भने एक ओभरमा ६ बलनै गरिन्छ ।


ब्याटिङ मैदानमा रन बटुल्दा केही बोनस रनहरु पाइन्छ । कहाँ कति रन बोनसमा पाउने थाहा पाउन चारवटा जोन ए, बी, सी र डि छुट्याइएको हुन्छ ।जोन ए अन्तर्गत पर्ने नेटमा बल लागेमा कुनै रन बोनसमा पाइने छैन । यो जोन विकेट किपरको पछाडिको नेटलाई मानिन्छ । बोनस रन नपाए पनि रन लिन भने सकिन्छ तर, विकेट किपरले रन आउट पनि गर्न सक्छ । यस्तै गरी जोन बी (ब्याट्स्म्यान र पिचको आधि भाग) को नेटमा बलले छोए १ रन बोनसमा पाइन्छ । त्यस्तै जोन सी (पिचको आधि भाग र बलर रहने ठाउँ) को नेटमा बलले छोए २ रन बोनसको रुपमा जोडिनेछ । जोन डी (बलर भन्दा पछाडि) भनेको यस हलको बाउन्ड्री लाइन हो । यहाँ बलले छोए प्रहार गरेअनुसार चौका कि छक्का पाइन्छ । चौका र छक्काको नियम भने बाहिर खेलिने क्रिकेटको जस्तै हुनेछ । एउटा भिन्दै नियम यसमा के छ भने उक्त बोनस रन वा चौका छक्का प्रहार भए पनि ब्याट्स्म्यानले छुटै रन लिन सक्छन् । लिइएको रन बोनससँगै स्कोरकार्डमा जोडिनेछ । तर, चौका, छक्का प्रहार गर्नको लागि सिधामात्र प्रहार गर्नुपर्ने हुन्छ ।


बलिङ यस खेलमा भने ब्याट्स्म्यान आउट भएपनि मैदान बाहिर जाँदैनन् । पार्टनरसिपअनुसार जति पटक आउट भएपनि खेल्नु पर्ने निश्चित ओभरसम्म खेल्नु पर्छ । हलको नियममा भने आउट भएको खण्डमा टिमको निर्धारित रनबाट ५ रन काटिन्छ । त्यस्तै बलरले ब्याट्स्म्यानलाई ३ डट बल दिन सकेमा ब्याटिङ टोलीको पुन रन घट्छ । यसबाहेक अन्य नियम भने बाहिरी मैदानमा खेल्दा लाग्ने नियम हुन्छन् । बलिङ भने टिमको हरेक खेलाडीले तोकिएअनुसार गर्नुपर्ने छ ।


प्रस्तुतिः विश्व रिमाल

इन्डोर क्रिकेट फुटसल

विशेष