समाज

शिक्षकले गरे राजनीति गर्न पाउनु पर्ने माग, जेठमा महाधिवेशन गर्ने तयारी

शिक्षकले गरे राजनीति गर्न पाउनु पर्ने माग, जेठमा महाधिवेशन गर्ने तयारी
माघ  - ५ । नेपाल शिक्षक महासंघले शिक्षकले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था हटाउन माग गरेको छ । शिक्षामन्त्री धनीराम पौडेलसँग बुधबार शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै महासंघले शिक्षकलाई राजनीतिक दलको सदस्यता लिएमा अवकाश दिने र शिक्षा विभागबाट सोझै शिक्षकको सरुवा गर्नसक्नेजस्ता प्रावधान शिक्षा नियमावलीमा नल्याउन आग्रह पनि गरेको हाे । विगतमा सहमति भएका पेसागत हितका विषय सम्बोधन गर्न पनि माग गरिएको महासंघका महासचिव तिलक कुँवरले जानकारी दिए । शिक्षा ऐन ९आठौं संशोधन०, २०७३ मा शिक्षकले राजनीतिक दलको कुनै समितिको कार्यसमितिमा बस्न नपाउने व्यवस्था रहेको तथा त्यसको कार्यान्वयनका लागि नयाँ नियमावली जारी हुने तयारीमा छ । महासंघका अध्यक्ष केशव निरौलाको नेतृत्वको प्रतिनिधिमन्डलले दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले शिक्षकका माग र सरोकारप्रति मन्त्रालय सकारात्मक भएको बताएका थिए ।
महाधिवेशनको तयारी महासंघको प्रथम महाधिवेशन आगामी जेठ २६ र २७ गते हुने भएको छ । तत्कालीन शिक्षक युनियन महासंघमा रुपान्तरण भएपछि हाल तदर्थ समितिले काम गरिरहेको छ । महासचिव कुँवरकाअनुसार यसै वर्षको चैतभित्र जिल्ला अधिवेशन पूरा गरेर महाधिवेशन गरिनेछ । महासंघमा सामुदायिक र निजी विद्यालयमा कार्यरत् शिक्षक, कर्मचारीका विभिन्न १७ घटक आबद्ध छन् ।

नेपाल शिक्षक महासंघ

विशेष