विचार

कसरी भयो एमालेको राष्ट्रवाद ‘अन्धराष्ट्रवाद’ ?

कसरी भयो एमालेको राष्ट्रवाद ‘अन्धराष्ट्रवाद’ ?

-किरण पौडेल 

कुनै बेला माओवादीका कार्यकर्ताहरु पनि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको चर्को आलोचना गर्थे । भारतीय व्यक्ति–२०२७ सालमा आफूले नागरिकता लिएको त्यसपछि बाबुको नागरिकता बनाइदिएको भन्ने विषय महतोसँग सधै जोडिन्छ । महतोको आलोचनाका लागि उपेन्द्र यादवका कार्यकर्ता नै तम्सिन्छन् भने माओवादी कार्यकर्ता के कम ?

माओवादी कार्यकर्ताको आँखा महतोको मामिलामा उघ्रिन्छ । तर आफ्नै नेता राम कार्कीको सवालमा बन्द हुन्छ । पत्नी भारतीय कर्मचारी, सम्पत्ति भारतमै भएका राम कार्कीको सवालमा माओवादी कार्यकर्ता मौन हुन्छन् । कार्की र महताको नश्ल त एउटै हो । यदि यो प्रशंगमा एमाले जोडिन्थ्यो भने नश्लवादको आरोप लागि सक्थ्यो ।

महतो र कार्कीबीच फरक के छ ? महतो भारतीय हुन् त्यसमा कुनै दुई मत छैन । तर दूर्भाग्य राम कार्की त राष्ट्रियताको सवालमा महतो भन्दा पनि खतरनाक देखिए । एउटा स्वतन्त्र राष्ट्रको, क्याविनेट मन्त्रीले गर्वका साथ सम्पत्ति विवरणमा लेख्छ कि– मेरो भारतमा पनि घर छ । यो भन्दा दूर्भाग्य अरु हुन सक्दैन ।

अध्ययनशील नेताको रुपमा भ्रामक छवि बनाएका कार्की तिनै पात्र हुन् जसले केही महिना अघि चीनतिरको नाका खोल्दा पर्यावरण बिग्रन्छ भनेका थिए । आजीवन भारतवेष्ठित बन्दाको नतिजा पाँच महिने नाकाबन्दी गरेर भारतले देखाइसकेको छ । त्यो अन्त्यका लागि केपी ओली नेतृत्वको सरकारले प्रयास शुरु गरिसकेको थियो । त्यसलाई ब्रेक लगाउने उद्देश्यले कार्र्कीको भनाइ सार्वजनिक भएको कुरामा दुई मत छैन । उनका अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिको भ्रमण रोकेर भारतभक्ति शिद्ध गरे, चेला कार्कीले नाका थुनेर भविष्यको सम्भावित नाकाबन्दीमा नेपाली पिल्स्याउने रणनीति तयार पार्दैछन् ।

फेरि पनि राजेन्द्र महतो जोडिन्छन्, नेपाली जनताका र विशेषगरी मधेसी जनताका एक दर्दनाक पात्र भएकोले पनि होला महतो हरघडी जोडिन्छन् । कार्की र महताको रङ, पार्टी, भाषा फरक छ । तर यी दुवैको आत्मा एउटै छ । आत्माको पुकार एउटै छ । यी दुवैको आत्मामा नेपाल र नेपाली जनता होइन भारतको आदेशले बास गर्छ । यो मिथ्या आरोप होइन समयक्रमले पुष्टि गरेको विषय हो ।

चीन तिरको नाका खोल्दा पर्यावरण विग्रने भए तराईमा त्यति धेरै नाकाले तराईको जनजीवन त ध्वस्त हुनु पर्ने । यसको मतलव के अब ती नाका बन्द गर्नुपर्ने हो ? यो विषयको जवाफ कार्की र उनको पार्टीले आगामी निर्वाचनबाट पाउनेछन् ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा दिइएको सार्वजनिक बिदाको चौतर्फी विरोध भयो । यसमा त माओवादी कार्यकर्ताहरुले पनि लोकलज्जा छोप्न ‘बिदा आवश्यक थिएन’ भन्ने अभिव्यक्ति दिए । तर प्रचण्डले भने, ‘जति उफ्रे पनि बिदा रद्द हुँदैन ।’ हालसालै जनस्तरबाटै सरकारलाई अर्को दबाब गयो । त्यो थियो– पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिइयोस् । प्रचण्डले यसमा पनि जनभावनालाई लात हान्दै भने, ‘दलीय सहमति बेगर बिदा हुँदैन ।’ कति सफेद झुट बोल्न सक्छन् प्रचण्ड । कांग्रेसका अर्जुन नरसिंह केसी, राप्रपाका दीपक बोहोराले बिदाको लागि क्याविनेटमा प्रस्ताव नै गरेको विषय बाहिर आएको थियो ।

बिदा दिन यी दुई साझेदार तयार भएपछि उनलाई अरु कसैको सहमति आवश्यक पर्दैन थियो । प्रतिपक्षी एमालेको सहमति खोजेका हुन् भने एमालेले कटाएको क्रिसमसमा उनले बिदा किन दिए ? खासमा उनी भारतको मात्रै नभएर पश्चिमाका पनि भक्त हुन् । १७ हजार नेपालीको ज्यान लिने कथित ‘महान जनयुद्ध’ नामक विध्वंश मच्चाउँदा भारतको एक चर्चमा लुकेर बसेको गुन उनी अहिले पनि यस्तै गरी तिरिरहेका छन् । यी घटनाक्रमले नेपालका प्रधानमन्त्री प्रचण्ड नेपाल र नेपालीका हुन सकेका छैनन्, उनी नेपालका लागि अहिलेको कुर्सीमा बसेका होइनन् भन्ने लगभग प्रमाणित हुन्छ । अर्घाखाँचीमा ऊर्जामन्त्री जनार्दन शर्मामाथि भारतीय दलाल भन्दै आक्रमण गरियो । कुनै दिन यस्तो आक्रमण भएर प्रचण्डको टाउको फुट्यो भने अन्यथा नमान्दा हुन्छ । उनले १७ हजारको ज्यान लिएको भए पनि उनको एक थोपा रगत पनि हिंसात्मक घटनाबाट नबगोस् भन्ने हामी चाहिन्छौं ।

भारतमा भन्दा नेपालमा लेन्डुप दोर्जे चर्चित छन् । सिक्किममा उनलाई ‘प्रजातन्त्रका पीता’ भनेर बखान गरिन्छ । नेपाल, बंगलादेश र भुटानमा उनलाई खतरनाक पात्रका रुपमा चिन्ने गरिन्छ । यी यस्ता पात्र हुन् जसले आफ्नो स्वतन्त्र मुलुकलाई भारतको पोल्टामा पारिदिए । उनको औचित्य सकिएपछि भारतले नै यीनको राजनीति समाप्त पारिदियो । कालिंम्पोङको एक गल्लीमा कुकुरको जस्तो मृत्यु वरण गर्नु पर्यो । माओवादीहरुले पनि भन्ने गरेको ‘रुप र सार’ को कुरा प्रचण्डमा पनि लागू हुन्छ । रुपमा भिन्न भए पनि लेन्डुप र प्रचण्ड उस्तै उस्तै छन् । यदि प्रचण्डको बस चल्थ्यो भने बाबुरामले भन्दा सात हात अघि सरेर नेपालहित विपरीत कार्य गर्न उनी उद्यत हुने थिए । प्रचण्ड कतिपय कुरामा यसकारण रोकिन्छ कि त्यसमा एमाले लगाएत दलहरुले राष्ट्रघात गर्नै दिँदैनन् ।

उनले नचाहेर होइन नसकेर खतरनाक राष्ट्रघात नगरेका हुन् । अहिले माओवादी, मधेसी मोर्चाले एमालेमाथि अन्धराष्ट्रवाद हावी भएको आरोप लगाइरहेका छन् । विशेषगरी भारतको विरोध गर्नु नै एमालेको राष्ट्रवाद हो भनेर अथ्र्याउने गरिन्छ । भारतले नेपालको ६५ हजार हेक्टर जमिन अतिक्रमण गरेको छ । दिनदहाडै भारतीय सुरक्षाकर्मीले नेपालभित्र पसेर नेपाली त्यसमा पनि मधेसी जनताको छातीमा गोली दाग्छन् । टीकापुर काण्ड मच्चाउँछ भारत । विखण्डनकारी सिके राउतलाई रेड कार्पेट विच्छयाउने भारत, नेपालका आतंकवादीलाई १० वर्ष पाल्ने भारत, नेपाली राजनीतिलाई सधै अस्थिर बनाउने भारत । अनि एमालेले विरोध चाहीँ बंगलादेश वा माल्दिभ्सको विरोध गर्नु पर्ने ? कसरी भयो एमालेको राष्ट्रवाद अन्ध राष्ट्रवाद ?

(लेखक नेकपा एमालको युवा संगठन युवा संघका महासचिब हुन्)

विशेष