समाज

तिमाल जात्रालाई राष्ट्रिय पर्वका रुपमा मनाउन बौद्धवासीले माग

तिमाल जात्रालाई राष्ट्रिय पर्वका रुपमा मनाउन बौद्धवासीले माग
माघ - ७ । चैत शुक्ल पूर्णिमाका दिनमा बौद्धमा मनाइने तिमाल जात्रालाई राष्ट्रिय पर्वका रुपमा मनाउन बौद्धवासीले माग गरेका छन्। काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित सांसद रामेश्वर फुयाँलले आज बौद्धमा आयोजना गरेको तिमाल जात्रासम्बन्धी छलफल कार्यक्रममा स्थानीयवासीले यस्तो माग गरेका हुन्। “माघ १ गते तारेभीरमा महोत्सव, फागुन ७ गते कागेश्वरीमा महोत्सव र वैशाख १ गते मणिचुडमा मेलाको आयोजना गरी यस क्षेत्रका पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै आएका छौँ, यसलाई अझ विस्तार गर्ने उद्देश्यले छलफल कार्यक्रम आयोजना गरिएको हो”–उनले भने। छलफलमा काठमाडौँ महानगरपालिका–६ का पूर्व वडा अध्यक्ष नेपालजीत लामाले बौद्ध स्तुपलाई गोकर्णस्थित राष्ट्रिय सहिद स्मारक, गोकर्णेश्वर महादेव मन्दिर, कागेश्वरी र मणिचुडलगायत स्थानसँग जोडेर प्रचारप्रसार गरी आन्तरिक पर्यटन प्रवद्र्धन गराउन सरकारीस्तरबाट विशेष कार्यक्रम ल्याउन पहल गर्न सांसद फुयाँलसँग माग गरेका थिए। चैतमा उपत्यका वरपरका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र रसुवालगायतका जिल्लाका तामाङ समुदायका मानिसले दिवङ्गत पितृको स्मृतिमा रातभर बत्ती बाली मुक्तिको कामना गर्ने गर्छन्। भोलिपल्ट बालाजु बाइस धारामा स्नान गरी नागार्जुनको जामाचोमा बत्ती बाल्ने र त्यसको भोलिपल्ट स्वयम्भूमा बत्ती बालेपछि यो जात्रा समाप्त हुन्छ। यो परम्परा प्राचीन तिमालका राजाले चलाएको सम्झनामा यसलाई तिमाल जात्रा भनिन्छ। जात्रामा तिमालका स्थानीयवासीको विशेष उपस्थिति हुन्छ।

तिमाल जात्रा बौद्धवासी

विशेष