समाज

जाजरकोटका धुलाम्मे सडकले स्थानीयबासी बिरामी

जाजरकोटका धुलाम्मे सडकले स्थानीयबासी बिरामी
माघ–९ । जाजरकोटका कच्ची तथा धुलाम्मे सडकको छेउछाउका स्थानीयबासी बढी बिरामी हुने गरेका छन् । जिल्लाको खलङ्गा पाँचकाटिया सडक, छेडा–मोर्क सडक, जाजरकोट–डोल्पा सडकखण्डको छेउछाउमा घर बनाएर बसोबास गरेका स्थानीय बढी बिरामी हुने गरेका छन् । हावाहुरी तथा गाडी चल्दा धुलो घरभित्र पसेर यहाँका स्थानीयको स्वास्थ्यमा समस्या हुने गरेको छ । जिल्लाका स्वास्थ्य संस्थामा उपचार गर्न आउने अधिकांश बिरामी सडकको छेउछाउमा बस्ने रहेका जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । धुलोका कारण श्वासप्रश्वाससम्बन्धी रोगी बढी भएको पाइएको छ । धुलोका कारण स्वास्थ्यमा मात्र समस्या नभई कपडा, खाना समेत दैनिक फोहर हुने गरेका छन् । यहाँका सडकमा पिच नहुँदा धुलैधुलो भएको हो । सडकले सेवा मात्र ल्याएन, सँगै धुलो पनि ल्याएर आएको र यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी रहेको स्थानीयको भनाइ छ । कच्ची सडकमा जोखिमपूर्ण यात्रासँगै यसले मानवीय जीवनमा ठूलो क्षति पुर्याएको छ । छिन्चु–जाजरकोट खण्ड मात्र पिच गरिएको छ । यहाँका अधिकांश गाउँमा समेत कच्ची सडक निर्माण गरी यातायातका साधन सञ्चालनमा ल्याइएका छन् । कच्ची सडकमा यातायात सञ्चालन गर्दा धुलाम्मे हुँदा सडक छेउछाउमा बस्ने स्थानीयको खानेकुरा, कपडालगायतका वस्तु फोहर हुने गरेको छ । जाजरकोट–डोल्पाको मुख्य सडकमा समेत पिच नहुँदा स्थानीयले दैनिक धुलो खानुपरेको खगेनकोटका नेत्र बिसीले बताए । रासस

जाजरकोट धुलाम्मे सडक स्थानीयबासी बिरामी

विशेष