विद्युत चुहावट गर्ने ६ सय ९८ जनालाई कारबाही

माघ–९ । नेपाल विद्युुत् प्राधिकरण, शाखा कार्यालय राजविराजले ६ महिनामा विद्युत हुकिङ गरी चोरी गर्ने ६९८ व्यक्ति तथा उपकरणमाथि कारबाही गरेको छ ।
चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युतको पोलबाट हुकिङ गरेर सिँचाइ तथा घरमा विद्युत चोरी गर्नेमाथि कारबाही गरेको प्राधिकरण केन्द्रका प्रमुख रामउद्गार साहले बताए । केन्द्रका प्रमुख साहका अनुसार आव २०७३\०७४ को साउनदेखि हालसम्म विद्युत चोरी गर्ने ६९८ व्यक्ति तथा उपकरणमाथि विद्युत ऐनवमोजिम कारबाही गरिएको छ । तीमध्ये ३८३ जना हुकिङ गर्ने मानिसलाई ५ हजार रुपैयाँ जरिवाना र २३४ वटा सामान जफत गरिएको उनले जानकारी दिए । यस्तै, तीमध्ये मिटरबाट सिधै विद्युत चुहावट गर्ने ८१ जनालाई समेत कारबाही गरिएको बताइएको छ ।
यता विद्युत चुहावटको कारबाहीबाट ४६ लाख १६ हजार ६ सय रुपैयाँ राजस्व सङ्कलन समेत गरिएको प्राधिकरण राजविराजले जनाएको छ। यसैबीच, विद्युत्को महसुल तिर्न बाँकी बक्यौता भएकाको लाइन काट्ने कार्य जारी राख्दै जिल्लामा भइरहेको व्यापक विद्युत चुहावट नियन्त्रणका लागि समेत प्राधिकरणले चुहावट नियन्त्रण अभियानलाई जारी नै राखेको प्रमुख साहले बताए। रासस
कारबाही
राजविराज
विद्युत चुहावट