विचार

देश टुक्रिने बलियो आधार तयार नहुञ्जेल महन्थ ठाकुर सहमतिमा आउँदैनन्

देश टुक्रिने बलियो आधार तयार नहुञ्जेल महन्थ ठाकुर सहमतिमा आउँदैनन्
–किशोरकुमार विश्वास प्रमुख तीन दलहरुको मेल हुने सम्भावना अझै देख्दिनँ । यदि तीन दल मिलेर मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनाव तिर लैजान खोजे भने अनर्थ हुन्छ । अनर्थ यसअर्थमा हुन्छ कि तीन दलले जति सुकै जे सुकै गरुन् मधेसी मोर्चा सहमतिमा आउँदै आउँदैन । अहिले मोर्चाले भनेको सिमांकन, संशाधन जस्ता विषय बेकारका बहाना मात्रै हुन् । मधेसी मोर्चाले अब के गर्छ भन्ने लाग्न सक्छ । म स्पष्ट शब्दमा लेखेरै दिन्छु, हेर्दै जानुहोला मधेसी मोर्चाको अहिलेको उद्देश्य नै संविधान विफल पार्ने नेपाललाई अन्यौलको अवस्थामा जाक्ने उद्देश्य हो । मधेसी मोर्चामा भएका दलहरु मध्ये सबैभन्दा खतरनाक चाहीँ तमलोपा र अध्यक्ष महन्थ ठाकूर हुन् । उनी अहिले भनिरहेका छन् कि –वर्षौदेखि मधेसमा विभेद भयो । वर्षौदेखि कांग्रेसमा रहेर सत्ताको भाग गर्नै यिनलाई यतिबेला थाहा भयो कि मधेसमा विभेद भयो भन्ने । तमलोपा भन्ने पार्टी नै भारतले बनाइदिएको हो । यो खतरनाक पनि छ । किनभने यो पार्टीको उद्देश्य त्यही हुन्छ, जे ‘र’ले बनाइदिन्छ । भूमिहार, राजपूत, ब्राम्हण र कायस्थहरुको यो पार्टीले मधेसको कुरा गरे पनि अवसर पाउँदा चाहिँ अरुलाई नभएर आफन्तका लागि काम गर्छ । मधेसी जनता भन्ने त सब नौटंकी हो । महन्थले सम्धिनीलाई सांसद र सम्धिलाई महामन्त्री बनाएको त सबैलाई थाहा नै छ । यस्ता व्यक्तिले मधेसीको हित गर्छन् भन्ने दिवास्वप्नमा छन् तराईका सोझा जनता । महन्थले धेरै पहिले देखि नै नेपाललाई बुहराष्ट्र मुलुक बनाउन प्रयास गरिरहेका छन् । ताकि भोली मधेस भन्ने अलग्गै मुलुक रहेछ भन्ने भावना मधेसीमा विकास गर्न सकियोस् । त्यसो गर्न सक्दा भारतलाई आफूले पठाएका अंगीकृते मधेसीहरुलाई उचालेर मधेस विखण्डनको आन्दोलन चर्काउने र पछि मधेस आफैमा मिसाउन सजिलो हुन्छ । भारतको त्यही चाहना पूरा गर्न तमलोपा अध्यक्ष महन्थ ठाकूर प्रयत्नशिल छन् । नेपालमा मधेसी मोर्चाकै अध्र्येल्याईका कारण संक्रमणकाल लम्ब्याउने कसरत भइरहेको छ । संक्रमणकाल जति लम्बिन्छ उग्रदक्षिणपन्थी, उग्रबामपन्थी र विखण्डनवादीहरु सल्बलाउँछन् । उदाहरणका लागि यो संक्रमणकाल पहिले नै समाप्त भएको भए अहिलेसम्म महन्थ ठाकूरजस्ता खतरनाक पात्रले टाउको उठाउने मौका नै पाउने थिएनन् । सिके राउत खुलेआम विखण्डनवादी क्रियाकलाप गर्ने, त्यो क्रियाकलापलाई वैधानिक बाटोबाट तमलोपाले सघाउने काम भइरहेको छ । सिके राउतलाई चोट लाग्दा महन्थ ठाकुरलाई दुख्छ । यो तथ्य विस्तारै सबैले थाहा पाउनेछन् । ‘तराईमा विखण्डनवादीहरु छन्, हामीले छाड्यौ भने उनीहरु सल्बलाउँछन्’ भनेर धम्क्याउने पनि महन्थ ठाकुर नै हुन् । तत्कालै चाहिँ महन्थको भूमिका संविधान समाप्त पार्ने नै हो । किनभने यो संविधानलाई भारतले स्वागत गरेको छैन । भारतले एक्कासी स्वागत गर्यो भने त महन्थ पनि त्यसै गर्छन् । नत्र महन्थ ठाकुरले तराईलाई, नेपाललाई नै चयनले जिउन दिने छैनन् । केही उपाय लागेन, तराईमा पनि मधेसी जनताले साथ दिएनन् भने मात्रै मधेसी मोर्चा चुनावमा जान्छ । नत्र देश खाडलमै जाओस उनीहरु लैनचौरको भोजमै रमाइरहने छन् । अब सिके राउतको क्रियाकलापलाई हेरौं । सिके राउतका विषयमा यति धेरै जनताको ध्यानाकर्षण भइसक्यो । तर सरकार बोलेको छैन । किनकी यो सरकार त भारतले बनाइदिएको हो । ऐनाले प्रचण्ड र विमलेन्द्र निधिको अनुहार होइन चरित्र देखाउने भइदिएको भए यी दुईले आफ्नो अनुहारमा लेन्डुप दोर्जेको आकृति पाउने थिए । यसकारण यो सरकारले सिके राउतको गतिविधिलाई नियन्त्रण गर्दैन । गरोस् पनि कसरी दुवैको पानी पिउँदो पँधेरो त एउटै हो । रंगेलीमा सिके राउत पक्राउ पर्दै त्यसलाई लामो समय जेलमा सडाउने प्रमाण थिए । तर दूर्भाग्य अदालतले मुक्त गरिदियो । अहिले त उसले बोलेको भिडियो नै सार्वजनिक भएको छ । अहिले पनि कारबाही गर्न प्रमाण पर्याप्त छ । तर ढुंगा बोल्ला सरकार बोल्दैन । यो सरकारलाई नेपाल समाप्त हुने क्रियाकलाप कस्तो राम्रो लागेको ? नेपाललाई भारतको अधिनमा पुर्याउने अझै खतरानक खेल चाहिँ अब दुई महिनापछि हुन्छ । दुई महिनापछि यो सरकार ढल्छ । त्यो थाहा पाएर नै केपी ओलीले सरकारलाई गलत्याएर हटाइन्छ भनेका हुन् । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । अनि देखिन्छ अर्को नांगो नाच । (ध्रुव रिजालले बहुल राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष किशोरकुमार विश्वाससँग गर्नुभएको कुराकानीमा आधारित)

विशेष