जनयुद्धले के दियो र ! सग्लो शरिर काम नलाग्ने भयो, भट्टी चलाउँदा पनि जीवन नचल्ने भो
माघ १० । सुन्दा धेरैलाई अपत्यारिलो जस्तो लाग्न सक्छ । मारेर चिहान खाडलमा फालिएका मान्छे ब्यूँझिएर घर फर्केको सम्भवतः संसारकै दूलर्भ घटना हुन सक्छ । जाजरकोट जुगाथापाचौर–९ नाहाडाका मानबहादुर बुढा (उपहार) २०५९ साल कात्तिक १८ गते तत्कालीन शाही सेनाले माओवादीको आरोपमा गोली हानी खाडलमा हालेको थियो ।
सिमा–९ स्यापीवाट तत्कालीन शाहीसेनाले आफूसँंगै जुगाथाचौर–७ भिउसका प्रेमबहादुर कठायत (प्रदेशी), सीमा–२ नेपाका मानबहादुर भण्डारी (धुर्व) र खलंगा–७ डिंगाकी कमरेड प्रणालीलाई माओवादीको आरोपमा गिरफ्तार गरेर आँखामा पट्टी बाँधेको मानबहादुर बुढाले जानकारी दिए । गिरफ्तारपछि आँखामा पट्टी बाँधेर चारै जनालाई सिमाकै जंगलमा चरम यातना दिइयो । उनले भने, ‘सेनाले हामीलाई हतियारको कुन्दाले शरिर निलडाम हुनेगरि यातना दियो । यातनाका कारण शरिर आफ्नो हो कि अरु कसैको हो भन्ने छुट्याउन नसक्ने भई सकेको थियो । प्रणालीलाई सेनाले पालै पालो बलात्कार गरे । बलात्कार सहन नसकेर उनी चिच्याएको सुनिन्थ्यो । ’ बुढाले भने ‘अन्ततः चारै जनालाई लाईन लगाएर गोली हान्यो ।’
एउटै डोरीमा बाँधिएका चारैजनालाई क्रमशः सेनाले गोली हान्दा अन्तिम गोली मानवहादुरलाई लाग्यो । अन्य तीन साथीहरु ठाउँको ठाउँ ढले । उनलाई देब्रे कुममा गोली लाग्यो । गोलीले मुटु छुन पाएन । गोलीलागेपछि उनी बेहोस भए ।
मानबहादुर बुढाले भने–“धेरै घण्टापछि ब्यूँझिदा त चारैजनालाई एउटै खाल्डोमा हालिएको रहेछ । माथिबाट माटो र स्याउलाले परिएको रहेछ । हामीलाई पुरेर सेना हिँडिसकेछ । शरिर रगले भिजेको थियो ।
गोलीको कारण देब्रे हात चलेन । असह्य पीडा भइरहेका थियो । धेरै घण्टाको बेहोसी पछि ब्यूँझिदा म कुनै अर्कै लोकमा पुगेँ कि जस्तो भयो । कतै मृत्युपछिको जीवन हो कि ? जस्तो पनि लाग्यो । आफू जीवीत थिएँ, तर त्यो सत्य पत्यार गर्न सकिरहेको थिइनँ । म जीवीत छु भन्नेमा म पूर्णतः विश्वस्त हुन सकिरहेको थिइन ।
‘यातना र देब्रे कुममा लागेको गोलीको कारण हुन सक्छ आधा शरिर त्यही छाडेर हिँडौं कि जस्तो लाग्यो । धेरै लामो प्रयास पछि गोली लागेको देब्रे हातलाई दाया हातले उचालेरै भए पनि घर पुगेँ ।’ बुढाले भने ।
आफूसँगै एउटै डोरीमा बाँधेर सेनाको गोली लागेर मृत्यु भईसकेका अरु तीनजना साथीहरुलाई त्यही खाडलमै छाडेर उनी निस्केका थिए । मृत्युजितेर घर फर्केका मानबहादुरको केही समयको उपचार पछि ठीक भए । २०४४ सालमा जन्मेका मानबहादुर २०५९ सालदेखि माओवादीको पूर्णकालीन सेना बनेका थिए ।
शान्ति सम्झौतापछि जनमुक्ति सेनाको ब्यारेकमा बसेका मानबहादुर वुढा अन्ततः ५ लाख रुपैयाँ बुझेर बर्हिगर्मित भए । अशक्त घाईते मानबहादुरले जीवनमा अरु केही गर्न सक्ने अबस्था देखेनन् । उनले सुर्खेत भेरीगंगा नगरपालीका–११ छिन्चुमा रक्सीभट्टि सञ्चालन गर्न बाध्य भए । पत्नी पवित्रा बुढामगरसँगै उनी रक्सीभट्टीमा खटिन्छन् । रक्सी पसलबाट भएको नाफावाटै मात्र दुई छोरालाई पढाउन र लोग्ने स्वास्नीको जीवन धान्न निकै कठिन भएको मानबहादुरले वताई रहेका छन् ।
रक्सीको कारोबारवाट दैनिक ३ सय भन्दा बढी नाफा नहुने बुढाले वताए । दैनिक तीन सयको आम्दानीले छिन्चुमा कोठा भाडामा लिएर परिवारको पालन पोषण गर्न र छोराहरुको पढाई धान्न निकै जटिल भईरहेको बताए । घाईते अबस्थामा रहेका मानबहादुरले पसल बाहेकको अन्य काम पनि आफु गर्न नसक्ने बताए ।
बुवा बलबहादुर वुढा र आमा बृद्धी बुढाको काईलो छोराका रुपमा रहेका मानबहादुर बुढाको परिवारका सबैजसो युद्धको बेला माओवादी थिए । उनका माईलो दाई प्रतिकले कैलालीको पाण्डुन दोहोर भिडन्तमा शाहदत प्राप्त गरेका थिए ।
– दीपबहादुर घर्तीबाट