देश

निर्माण अवधि सकिएको दुई वर्ष बित्दा पनि बनेन मेची पुल

निर्माण अवधि सकिएको दुई वर्ष बित्दा पनि बनेन मेची पुल
माघ - १० ।  झापा जिल्लाको उच्च प्राथमिकतामा रहेको भद्रपुर नगरपालिकास्थित मेची पुलको निर्माण कार्य पूरा हुन अझ सुनिश्चत हुन नसक्दा नेपाल–भारत दुवै देशका नागरिकले समस्या झेलिरहेका छन् । अनक–सूर्या जेवीले २०७१ पुस २७ गते निर्माण कार्य सम्पन्न गर्ने गरी २०६६ पुस २९ मा ३७ करोड ३६ लाख ८५ हजारमा ठेक्कामा लिई काम सुरु गरेको थियो । [caption id="attachment_52339" align="alignnone" width="944"] मेची पुल[/caption]
निर्माण अवधि सकिएर पनि दुई वर्ष नौ दिन बितिसकेको छ तर पुल नबन्नु चरम ढिलासुस्तीको नमुना भएको स्थानीय बासिन्दाको गुनासो छ । मेची पुलको लम्बाइ ५६० मिटर, चौडाइ ९.८ मिटर डबल लेन हुने सो पुल नेपाली प्रविधिबाट अन्तर्राष्ट्रियस्तरको पहिलोपटक निर्माण हुन लागेको बताइको छ । पुलको दुवैतर्फ पैदल मार्ग पनि बनिने भएको छ । सत्रवटा पिलर रहेको सो पुलमा अहिले १५ वटा पिलरको निर्माणकार्य पूरा भई १२ वटा पिलरमा बिम पनि चढाइसकेको छ । पुलको दुईवटा ११ र १२ नम्बरको पिलर टेडो भएको र सो सम्बन्धमा सडक विभाग पुल एकाइले अहिलेसम्म निष्कर्षमा पुग्न नसकेकाले काममा ढिलाइ भइरहेको निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडाले बताए । पिलर निर्माण गर्न कठिनाइ भएपछि ड्रगलाइन मेसिन सिङ्गापुरबाट रु ६० लाखमा झिकाइ गएकै वर्षमा काम सम्पन्न गर्ने ठेकदारको लक्ष्य पूरा हुन सकेको छैन । निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडाले नेपाल सरकारबाट भुक्तानी हुने रकममा समस्या नरहे पनि मेची नदीमा वर्षात्को समयमा आउने बाढीले बर्सेनि तीन महिना काम रोकिँदातोकिएको समयमा काम सम्पन्न हुन नसकेको प्रतिक्रिया दिए । उनले '९० प्रतिशत सरकारले रकम भुक्तानी गरिसकेको छ', उनले भने, 'पुलको काम पनि ९० प्रतिशत सम्पन्न भएको प्राविधिकले जानकारी दिए पनि यसमा जनता आश्वस्त हुन सकेका छैनन् ।' पुलको बचावटका लागि नदी नियन्त्रणका लागि पुलको दुवै किनारमा सिरानतर्फ ९०० मिटर र दक्षिणतर्फ ३०० मिटर लम्बाइको क्रेटिङको काम पनि भइरहेको छ । सडक डिभिजन कार्यालय दमक र ग्रामीण हुलाकी मार्ग निर्माण योजना कार्यालय इटहरीको नियमित रेखदेख एवम् निरीक्षण भइरहेकाले पुलको गुणस्तरमा कुनै कमी नरहेको प्राविधिकहरुले बताएका छन् । पुल निर्माणमा दक्षिण झापावासीले २००९ सालदेखि नै सङ्घर्ष गर्दै आइरहेका छन् । पुल निर्माण गर्न भद्रपुर तथा झापावासीले २०२८ सालमा तत्कालीन युवराज वीरेन्द्र शाह पूर्वाञ्चल भ्रमणको क्रममा इलाममा आएका बेलामा स्थानीय उद्योगी एवं समाजसेवी भद्रपुर निवासी मोहनलाल अग्रवालको संयोकत्वमा बनेको समितिले जनस्तरबाट चन्दा संक्लन गरी उठाएको २२ लाख ८० हजार भेटी चढाएको कुरा वरिष्ठ पत्रकार एवम् मेची बहुमुखी क्याम्पस भद्रपुरका पुर्व क्याम्पस प्रमुख चिन्तामणि दाहाल बताउँछन् । त्यतिबेला पुल निर्माण गर्न कुल ३७ लाख लागत लाग्ने प्राबिधिकहरुले जनाएको थियो । नेपाल भारत ओहोर–दोहोर गर्न र तथा यहाँको व्यापार व्यावसायलाई उचाइ तहमा पुर्‍याउन निकै महत्व राख्ने यो पुल निर्माण पछि भारतको सिलगुडी, किसनगञ्ज, ठाकुरगञ्ज, बङ्गलादेश जस्ता देशमा ब्यापार र व्यवसायको पहुँच पुग्ने उद्योगी व्यापारी तथा बुद्धिजिवीको भनाइ छ । पुलको अभावमा राजधानी बाहिर सबैभन्दा पहिले बनेको भद्रपुर नगरपालिकाले गति लिन सकेन । यहाँ स्थापना भएका उद्योग एवम् कलकारखाना विस्थापित हुन पुगे । अहिले पनि मानिसले मेची पुलको अभावमा वर्षात्को समयमा सशुल्क डुङ्गा चढेर वा राँगा गाडी चढेर वारपार गर्ने गरेका छन् । नेपाल-भारत जोड्ने तथा व्यापार व्यवसायलाई नजिक एवम् सरल र सहज बनाउने मेची पुलको निर्माण कार्य सम्पन्न भएपछि यहाँ उद्योग, व्यापारले गति लिई प्रशस्त रोजगार सिर्जना हुने सम्भावना कायमै छ । पुलको शिलान्यास गरेका तत्कालीन उपप्रधान एवम् भौतिक योजनामन्त्री विजयकुमार गच्छदारले गत वर्ष यसको निरीक्षण गरेका थिए । गत पुस १९ गते झापाको बनियानी आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि स्थानीय जनताले पुल छिट्टै बनाइदिन आग्रह गरेका थिए । पुलको निरन्तर अनुगमन, अवलोकन एवम् रेखदेख गर्ने जिम्मेवारी लिएका ग्रामीण हुलाकी मार्ग योजना कार्यालय इटहरीका प्रमुख इन्जिनियर शैलेन्द्र त्रिपाठी निर्माणस्थलमा नभेटिने र सम्पर्कमा पनि आउने गरेका छैनन् ।

Mechi Pul

विशेष