समाज

कोदालोदेखि कम्प्युटरसम्म पढाउने स्कूल

कोदालोदेखि कम्प्युटरसम्म पढाउने स्कूल

माघ ११ । डेढ वर्षअघि विद्यार्थी नभएर खारेजीमा पर्दा कसैले पनि कल्पना गरेको थिएन– कुनै दिन खोटाङको जनजागृति प्रावि उदाहरणीय स्कुलका रूपमा चिनिनेछ भनेर ।

समयले यसरी कोल्टे फेर्‍यो कि पूर्वका झापा, इलामदेखि पश्चिमका जुम्ला, हुम्लासम्मका विद्यार्थीले भरिएको छ स्कुल । डेढ सय विद्यार्थीलाई आवासीय सुविधासमेत छ ।

तीन शिक्षकको दरबन्दी रहेको विद्यालयमा ७ जना विद्यार्थी भएपछि जिल्ला शिक्षा कार्यालयले खारेजी गरेको थियो । तर अभिभावक र विद्यालय व्यवस्थापनको मिहेनतले अहिले कोदालोदेखि कम्प्युटरसम्मको पढाइ हुने नमुना विद्यालयको रूपमा नाम कमाएको छ, जनजागृतिले ।

स्कुल खारेज भएपछि अभिभावकको पहलमा विद्यार्थी व्यवस्था गरेर विद्यालय फेरि सञ्चालनमा ल्याइयो । शिक्षाप्रेमी सूर्य राई व्यवस्थापन समितिको अध्यक्ष बने । तत्कालै शिक्षण विधि फेरियो । पढाई कक्षामा होइन, स्थलमै लगेर विद्यार्थीलाई सिकाउने गरियो । ‘अचेल कोदालोदेखि कम्प्युटरसम्मको पढाइ हुने गरेको छ । जमिन, जंगल र जलसम्मको पठनपाठन हुन्छ,’ अध्यक्ष राईले भने, ‘विद्यार्थीलाई बारीमा गएर सबै बारीसम्बन्धी शब्द र अर्थ बुझाइन्छ, खोलासम्बन्धी पढाउन खोलामै लगिन्छ, यसो गर्दा विद्यार्थीले कहिलै भुल्दैनन् ।’

जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले यसखाले पठनपाठनले आफू प्रभावित भएको बताए । अध्यक्ष राईले पाठ्यपुस्तकसँग होइन, पाठ्यक्रमका आधारमा पढाउने गरिएको बताए ।

कान्तिपुर

School

विशेष