समाज

हाँस्यकलाकार: जिग्री र पाँडे दृष्टिविहीनका लागि घर बनाउँदै

हाँस्यकलाकार: जिग्री र पाँडे दृष्टिविहीनका लागि घर बनाउँदै

माघ ११ । हाँस्यकलाकार जोडी कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ यतिबेला सप्तरीको एक दलित बस्तीमा दृष्टिविहीनका लागि घर बनाउने अभियानमा जुटेका छन् ।

दाजु-भाउजू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को समाजसेवाको पदचाप पछ्याउँदै कुमार कट्टेल पनि समाजसेवामा लागेका हुन् ।

जिग्री पाँडे फाउन्डेस स्थापना गरेर उनीहरू कलाकारिताका साथै समाजसेवामा पनि लागेका छन् ।

गत बिहीबार बिहीबार सप्तरी गमहरिया प्रवाह–४ स्थित पट्टिटोल पुगेका चर्चित हास्यशृंखला ‘भद्रगोल’ का यी कलाकारले १७ जनाको संयुक्त परिवारमा रहेका तीन भाइका लागि तीनवटा वातावरण र अपांगमैत्री घर बनाइदिने घोषणा गरेका हुन् ।

सामाजिक अभियान्ता बाराका रमेशप्रसाद साहका साथमा सप्तरी पुगेका उनीहरूले मण्डल परिवारको दयनीय अवस्था देखेर उनीहरूलाई लत्ताकपडाका साथै खाद्यान्न वितरण गरेका थिए ।

‘भगवान शिवले पनि गरिब, असहाय, दीनदुःखीको सेवा गर्नु नै धर्म भएको बताउनु भएको छ, त्यही भएर हामी अतिविपन्न मण्डल परिवारलाई सहयोग गर्न आएका हौं,’ कलाकार कुमार कट्टेलले भने ।

स्थानीय शम्भु मण्डलको परिवारमा १७ जना छन् । त्यसमा एक बालकसहित पाँचजना दृष्टिविहीन छन् ।

उनीहरूको अवस्था निकै नाजुक भएकाले आफूहरूले घर बनाइदिन लागेको कलाकार अर्जुन घिमिरेले बताए । उनका अनुसार नयाँ तीन घरका लागि ३५ देखि ४० लाख रुपैयाँ बजेट अनुमान गरिएको छ ।

Jigri Panday

विशेष