समाज

रणनैतिक सडकमा बजेट बिनियोजन नगरेको भन्दै जाजरकाेटबासी आक्रोशित

रणनैतिक सडकमा बजेट बिनियोजन नगरेको भन्दै जाजरकाेटबासी आक्रोशित

माघ ११ । जिल्लाका सम्भावित रणनैतिक सडकहरुमा चालु आर्थिक बर्षमा अर्थ मन्त्रालयले रकम विनियोजन नगरेको भन्दै जिल्लाबासी आक्रोशित भएका छन् । बजेट अभावका कारण जिल्लाका महत्वपुर्ण सडकहरुको निर्माण कार्य अलपत्र हुने देखेपछि जिल्लाबासी आक्रोशित भएका हुन ।

रणनैतिक महत्वका छेडा–चाँदे–जुम्ला सडक र खलंगा–पाँचकाटिया–जुम्ला सडकमा चालु आर्थिक बर्षमा अर्थमन्त्रालयले रकम विनियोजन नै गरेको छैन् । अर्थ मन्त्रालयले बजेट विनियोजन गर्ने भन्दै सडक डिभिजन कार्यालयलाई आशयपत्र लेखि पठाए पछि करीव ७÷७ करोडका दुई ओटा टेण्डर भएका थिए तर, रकम आउने निश्चित नभएको र अन्य प्रक्रिया पनि पुरा नभएको भन्दै ति ठेक्काको टेण्डर रद्ध गरिएको छ । आर्थिक बर्ष शुरु भएको ६ महिना विति सक्दा पनि जुम्ला जोड्ने रणनैतिक सडकमा बजेट नआए पछि जिल्लाबासी सडक डिभिजन कार्यालय र दलका नेता प्रति आक्रोशित भएको नागरिक समाजका अगुवा राजेन्द्र बिक्रम शाहले बताए ।

सधै भरि जाजरकोट जिल्लालाई केन्द्रिय सरकारले सौतेनी ब्यबहार गर्दै आएको भन्दै नागरिक समाजका अगुवा शाहले आक्रेश व्यक्त गरे । जिल्लामा शहरी, क्षेत्रिय र प्रादेशिक गरी चार दर्जन बढी सडक आयोजनामा बजेट विनियोजन गरिएको भएपनि सम्भावित रणनैतिक सडकमा हालसम्म बजेट विनियोजन नभएको डिभिजन प्रमुख अशिस थापा मगरले बताए । हामीलाई अर्थमन्त्रालयले बजेटको लागी आशय पत्र दिएको छ । टेण्डर रद्ध गरिएका सडकको पुनः टेण्डर गर्ने तयारीमा छौ डिभिजन प्रमुख थापाले भने–‘तपाईहरुको सडक आयोजनाको काम प्रतिको चासो र चिन्ता स्वभाविक छ ।

एउटै कार्यालयले जाजरकोट, रुकुम र डोल्पा हेर्नु पर्ने भएकोले जनशक्तिको हिसावले पनि हामीलाई केही समस्या छ । ठेकेदार कम्पनीहरुको लापरवाहीले कतिपय काम लामो समय देखि हुन नसकेको साँचो हो, अव कुनै हालतमा काम सुचारु गर्छाै, अन्यथा काम नगर्ने ठेकेदारलाई कारवाही हुन्छ ।’ मैले रणनैतिक सडक र पुललाई प्राथमिकतामा राखेर काम गरिरहेको छु डिभिजन प्रमुखले भने–‘म सरुवा भएर आएको केही महिना मात्र भएको छ, यस क्षेत्रको यातायात विकासमा केही काम गरेर देखाउँछु ।’ सुर्खेत–दैलेख हुदै जुम्ला जाने सडक भन्दा जाजरकोट जुम्ला सडकको दुरी निकै छोटो छ ।

जाजरकोट र जुम्ला जोड्ने रणनैतिक सडकको निर्माण कार्य सम्पन्न भएमा कर्णाली सँगको ढोका खुल्ने र आर्थिक विकासमा महत्वपुर्ण उपलब्धी हुने जिल्लावासीको भनाई रहेको छ । त्यस्तै जाजरकोट–डोल्पा सडकको रिम्ना खण्डमा करीव ४ सय मिटर पुलको पहुँच मार्ग नबनाएर अलपत्र पर्दा सिधा यातायात संचालनमा समस्या भएको छ ।

निर्माण कार्य शुरु भएको १० वर्ष सम्म पनि गुणस्तरीय काम नहुँदा अलपत्र अवस्थामा रहेको खलंगा–पाँचकाटिया सडक, खलंगा–पाँचकाटिया–पैक–ब्याउलीढुङ्गा–जुम्ला, खलंगा–पाँचकाटिया–बारेकोट–जुम्ला सडक र छेडा–चाँदे–जुम्ला सडक जस्ता रणनैतिक महत्वका सडक, जाजरकोट–डोल्पा भेरीकरिडोरमा अलपत्र बैरीताल चिसापानी पुल, छिन्चु–जाजरकोट सडकमा अलपत्र पासागाड सिम्ली खोलामा मोटरेबल पुल समयमा बन्न नसकेको भन्दै जिल्लाबासी आक्रोशित भएका हुन् ।

लामो समय देखि सुरु भएपनि अलपत्र अवस्थामा रहेका आधा दर्जन वढी सडक र पुलको निर्माण कार्य यथासिघ्र सम्पन्न गर्न जिल्लाबासीले माग गरेका छन् । जिल्लाका रणनैतिक सडक र पुलमा प्रयाप्त बजेट विनियोजन नहुनु, बिनियोजित बजेटमा पनि निर्माण कम्पनीको ढिलासुस्ती तथा लापरवाहीले म्याद सकिदा समेत काम सम्पन्न नहुनु र सडक डिभिजनको उदासिनताले गर्दा ति आयोजना अलपत्र परेको जिल्लाबासीले ठहर गरेका छन् ।

जिल्ला सदरमुकाम गाडी पुगेको १० बर्ष विति सक्दा पनि सदरमुकाम बाहिरका स्थानमा हालसम्म यातायात सेवा पुग्न सकेको छैन । सदरमुकाम खलंगा आउन अहिले पनि ग्रामिण भेगका बासिन्दा पैदल हिड्नुको विकल्प छैन । कार्कीगाँउ ६ का अमरबहादुर बस्नेतले भने–“सडक निर्माणले गति लिन नसक्दा अधिकांश बासिन्दा पैदल हिड्न बाध्य छन् । विरामीलाई उपचारमा लैजान र उपभोग्य समान लिन अहिले पनि डोकोमा बोक्नु पर्ने बाध्यता छ ।”

जिल्ला सदरमुकाम खलंगामा गाडी पुगेको १० बर्ष पुगिसक्दा समेत सदरमुकाम जोड्ने कुनैपनि सडक बन्न सकेका छैनन् । जिल्ला सदरमुकाम आउन अहिले पनि स्थानिय पैदल हिड्न बाध्य भएको र सडक निर्माणले गति लिन नसकेपछि सडक सरोकार समिति गठन गरेर जिल्लावासी जुर्मुराउन थालेका छन् । जिल्लाबासीका माग सुनुवाई नभए कडा संघर्षमा उत्रिन बाध्य हुने सरोकार समितिले चेतावनी दिएको छ । बर्षौं देखी अलपत्र परेका सडक र पुल निर्माणको माग गर्दै जाजरकोटबासीको तर्फबाट सडक सरोकार समितिले रुकुमको चौरजहारी स्थित सडक डिभिजन कार्यालय पुगेर सरकारको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित निर्माण कम्पनीको लापरवाहीले अलपत्र पारिएका विभिन्न सडक र मोटरेबल पुल यथासिघ्र निर्माण गर्न माग गदै सडक डिभिजन कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गराई सकेको सडक सरोकार समिति जाजरकोटका संयोजक अमरसिंह राठौरले जानकारी दिए ।

Road in Jajarkot

विशेष