समाज

 धोका दिने प्रेमीलाई जेलबाट छुटाएर बिहे

 धोका दिने प्रेमीलाई जेलबाट छुटाएर बिहे
साँझ करिब ५ बजेतिर एउटी महिला अत्तालिँदै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु पुगिन् । प्रहरी नायब उपरीक्षकलाई खोज्दै गएकी उनलाई प्रहरीले प्रनाउ माधवप्रसाद बुढाथोकीसँग भेट गराइदिए । बुढाथोकीलाई भेटेपछि उनले जन्तीका लागि भोज तयार गरेको तर जन्ती नआएको र बेहुला पनि सम्पर्क बाहिर गएका कारण आफू बर्बाद भएको बताइन् । उनले तत्काल बेहुलालाई झिकाइदिन प्रहरीलाई आग्रह गरिन् । जन्ती कहाँबाट आउने रु प्रनाउ बुढाथोकीको प्रश्नमा रश्मी भुजेल (नाम परिवर्तित)ले भनिन्, जाजरकोटबाट । झनै अचम्म लागेपछि बुढाथोकीले सोधे, 'जाजरकोट कहाँ हो, कति टाढा छ, थाहा छ ?' भुजेलको जवाफ आयो, 'त्यो त थाहा छैन, जाजरकोट भन्ने मात्र सुनेको ।' घटना विवरण बुझ्दा थाहा भयो, ती महिला वैदेशिक रोजगारीबाट केही समय अघि फर्केकी रहिछन् । विदेशमा बस्दा ती महिला र जाजरकोट घर बताउने एक पुरुषसँगै बस्दा (लिभिङ टुगेदर) रहेछन् । नेपाल फर्केपछि विवाह गर्ने उनीहरुको सर्त रहेछ । दुवै नेपाल फर्केपछि फोनमार्फत कुराकानी भइरहेको रहेछ । केटाले केही समयपछि विवाह गरौँला भन्दा केटीले चाँडै विवाह गर्न दबाब दिएपछि केटाले जन्ती लिएर आउने साइत सुनाएछन् । सोही अनुसार केटीपक्षले विवाहको लागि धुमधाम तयारी गरे । विवाहको दिन निम्तालु पनि भेला भए । खानपिनको व्यवस्था पनि भयो । दिउँसोसम्म आउँदैछौँ भन्दै गरेको केटापक्ष साँझपख एक्कासि आफूहरु नआउने भन्दै सम्पर्क बाहिर पुगेपछि केटी अत्तालिँदै प्रहरीकोमा पुगेकी रहिछन् । उनले तत्काल केटालाई झिकाइदिन भने पनि प्रहरीले स्पष्ट ठेगाना नभएको र टाढा रहेकाले तत्काल झिकाउन असम्भव रहेको बताएपछि केटीले आफू केही दिनसम्ममा फकाएर केटालाई बोलाउने त्यसबेला पक्राउ गर्न सहयोग मागे । प्रनाउ थापाले सहयोग गर्ने आश्वासन दिए र केटी फर्किइन् । एक हप्तापछि पुनः प्रहरी कार्यालय पुगेकी ती महिलाले केटा सो दिन जिल्लामा आउने बताए र प्रहरीले केटालाई पक्राउ गर्‍यो । सार्वजनिक मुद्दा अन्तर्गत २४ दिन हिरासतमा बसेपछि २५ औँ दिनमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए । आदेशलगत्तै तिनै महिलाले सो रकम तिरेर केटालाई छुटाइन् र विवाह सम्पन्न गरी गएको शुक्रबार केटी केटासँगै जाजरकोट लागिन् । 'चलचित्रको कथा जस्तो लाग्ने यस्तो घटना यसअघि कतै सुनेको पनि थिइनँ', प्रनाउ बुढाथोकी भने, 'वैदेशिक रोजगारीले यस्ता समस्या आउन थालेको छ । यस्तो विषयमा युवायुवती सचेत हुनुपर्छ ।'

बिहे

विशेष