खेल

नेपाल र हङ्कङको टोलीबीच मैत्रीपूर्ण खेल

नेपाल र हङ्कङको टोलीबीच मैत्रीपूर्ण खेल
माघ - ११ । नेपाल र हङ्कङका राष्ट्रिय तेक्वान्दो खेलाडीबीच मैत्रीपूर्ण खेल हुने भएको छ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा हुने उक्त मैत्रीपूर्ण खेल यही माघ १९ गते कोटेश्वर फिटनेश क्लबमा हुने राष्ट्रिय तेक्वान्दो टोलीका संयोजक हेमन्त डाँगीले जानकारी दिए । उक्त मैत्रीपूर्ण खेलका लागि हङ्कङबाट एक प्रशिक्षकसहित तीन पुरुष र चार महिला खेलाडी यही माघ १३ गते नेपाल आउनेछन् । मैत्रीपूर्ण खेलमा कुल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता रेजीना कार्की (४६ केजी), ज्ञानी चुनारा (५७ केजी), ताराकुमार रायमाझी (५४ केजी), महम्मद वेस (६७) केजी र निश्चलमान श्रेष्ठ (७४ केजी) ले आफ्नो तौलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, ५३ केजी तौल समूहमा भने स्वर्ण विजेता निमा गुरुङ र रजत विजेता रेश्मा थापाले प्रतिस्पर्धा गर्नेछिन् । नेपाल र हङ्कङका राष्ट्रिय टोलीले यही माघ १४ र १७ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा संयुक्त रुपमा प्रशिक्षण लिने छन् । माघ १६ गते नक्सालस्थित अर्जुन फिटनेश क्लबमा उक्त टोलीले प्रशिक्षण लिने मैत्रीपूर्ण खेलका संयोजकसमेत रहनुभएका नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष हरिश्वर पोख्रेलले जानकारी दिए ।

तेक्वान्दो

विशेष