रेमिट्यान्स पठाउन विदेश गएका युवाहरु दैनिक ३–४ जना त बाकसमा फर्किन्छन्
माघ १२ । वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसंगै विदेशमा ज्यान गुमाउनेको संख्या वृद्धि हुनु अब धेरैलाई सामान्य हुन थालेको छ । दैनिक १२ देखि १५ सय युवा बैदेशिक रोजगारीमा गइरहेका छन् । त्यसमा दैनिक ३ देखि ४ शब नेपाल विदेशबाट आउने गरेको पछिल्लो तथ्यांकले देखाउँछ ।
वैदेशिक रोजगारीमा गएर आफू र परिवारको सुन्दर भविष्य बनाउने अभिलाषा बोकेका कैयन् युवायुवती विदेशमा प्राकृतिक मृत्यु भन्दा पनि सडक दुर्घटना मुटुजन्य रोग, आत्महत्या जस्ता कारणले सर्वाधिक ज्यान गुमाउने गरेको वैदेशिक रोजगार बोर्डको तथ्यांकमा रहेको छ । साथै पछिल्लो अवधिमा रोजगारी क्रममा आत्महत्या गर्नेहरुमा पुरुषको तुलनामा महिलाको संख्या बढिरहेको पाईएको छ । विदेशमा आत्महत्या गर्नेहरुको संख्या ज्यादा देखिन्छ तर पुरुषको तुलनामा महिलानै बढी रहेका छन् । त्यस्तै विदेशमा महिलाको मृत्युको कारण एक तिहाइ भन्दा बढी महिलाको मृत्युको कारण आत्महत्या भएको तथ्यांक रहेकोछ । वैदेशिक रोजगारीका क्रममा धेरै महिलाले आत्महत्या गर्नुलाई बिज्ञहरुले विदेशमा हुने शोषण र नेपालबाट सोचेजस्तो वातावरण त्यहाँ नपाउनुलाई कारणको रुपमा लिने गरेका छन् । वैदेशिक रोजगार प्रवद्धन बोर्डकी निर्देशक निर्मला थापा कामका लागि विदेश पुगेका ठूलो संख्याका महिलाले आत्महत्या गर्नुको कारण शारीरिक र आर्थिक शोषण हुनुलाई ठान्छिन् । –नागरिक दैनिकबाट