देश

निर्माण सुरु भएन सगरमाथा जाने पुल, पर्यटक जोखिमपूर्ण यात्रा गर्न बाध्य

निर्माण सुरु भएन सगरमाथा जाने पुल, पर्यटक जोखिमपूर्ण यात्रा गर्न बाध्य
माघ - १२ । उपभोक्ता समिति बनेको १८ महिना बितिसक्दा समेत विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मुख्य पदमार्गमा पर्ने इम्जा खोलामाथिको पुल निर्माण कार्य अलपत्र बनेको छ । दिबुचेबाट पाङबोचेतर्फ जाने बाटोमा पर्ने सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि जिल्ला विकास समिति र इम्जा खोला झोलुङगे पुल निर्माण उपभोक्ता समितिबीच २०७२ जेष्ठ १० गते सम्झौता भएको थियो । २०७३ असार २० गते सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त योजनाको अहिलेसम्म कुनै काम हुनसकेको छैन । सो पुल सम्पन्न गरिसक्ने अन्तिम मिति समेत गुज्रिएको सात महिना बितिसकेको छ । योजनाका लागि पहिलो किस्ताको रकम जिविसिबाट लगेपछि अहिलेसम्म उपभोक्ता समितिका पदाधिकारी जिविसको सम्पर्कमा आएका छैनन् । पहिलेको झोलुङ्गे पुल पहिरोमा परी भाँच्चिएपछि नयाँ पुल निर्माणका लागि योजना निर्माण गरिएको थियो । उपभोक्ता समितिसँग ५० लाख ४२ हजारमा सो योजना सम्झौता भएको थियो । ६८ मिटर लामो सो पुल निर्माण नहुँदा खुम्बु भ्रमणमा जाने पर्यटक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । गएको वर्षात्मा सोही स्थानबाट खोलामा खसेर एकजना विदेशी पर्यटक बेपत्ता भएका थिए । सँगै सम्झौता गरिएको चौरीखर्कको पुल निर्माण भएर प्रयोगमा आइसक्दा पनि उक्त पुल निर्माणको सुरसार नहुँदा स्थानीय वासिन्दा र पदमार्गमा हिँड्ने पदयात्री खिन्न भएको पथप्रदर्शक तिलक बस्नेतले गुनासो गरे । यता जिल्ला प्राविधिक कार्यालय सोलुखम्बुका प्रमुख इन्जिनियर पुष्करप्रसाद पोख्रेलले भौगोलिक कठिनाइकै कारण अनुगमनमा जान नसकिएको बताए।

पदमार्ग पुल निर्माण सगरमाथा

विशेष