सफलताको कथा

भारतमा आँखाको ज्योति गुमाएका रामसिंह गाउँ फर्केर लखपति बने

भारतमा आँखाको ज्योति गुमाएका रामसिंह गाउँ फर्केर लखपति बने
माघ - १२ । सोह्र वर्ष अगाडि भारतको गुजरातमा सिमेन्ट कारखानामा काम गर्ने सिलसिलामा दुवै आँखाको ज्योति गुमाएका खुमेल गाविसका ४४ वर्षीय रामसिंह विक ठेलामा तरकारी बिक्री गरी आम्दानी गर्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका विकले आँखाको उपचारका लागि भारतका विभिन्न अस्पताल धाए । छिमेकी दाजुभाइबाट सहयोग नपाएपछि उनी श्रीमती र दुई वर्षीया छोरीसँगै सदरमुकाम लिवाङ झरे । करिब ६ वर्षसम्म श्रीमतीको ज्यालामजदुरीबाट पालिनुभएका विक त्यसपछि भने ठेलामा तरकारी बेच्न थाले । “दैनिक चार सयदेखि एक हजारसम्म आम्दानी हुन्छ,” उनले भने । उनको ठेलाकै कमाइबाट छ लाख ५० हजारमा लिवाङमा एउटा घडेरीसमेत किनेका छन् । विकले छट्टै घर निर्माण गर्ने योजना बनाएका छन् । गरिबीका कारण जेठो छोरालाई पढाउन नसकेकामा उनलाई पछुतो छ । दुई छोरी भने अहिले लिवाङस्थित एउटा माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् । “अपाङ्ग भएर घरमा थपक्क बसेको भए यस्तो व्यवस्था गर्न सक्ने थिइनँ,” विकले भने । दिनहुँ युवा खाडी मुलुक जाने गरेपनि विक नेपालमै जीविकोपार्जनका प्रशस्त सम्भावना भएकाले जान नहुने बताउँछन् । “आँखा नभएको मैले त यहीँ काम गरेर खाँदै छु, सपाङ्गलाई त यहाँ गर्न नसकिने केही छैन,” उनले भने । श्रीमतीका कारण आफूलाई बाँच्न र केही गरौँ भन्ने भावना पलाएको विक बताउँछन् ।

रामसिंह विक

विशेष