खेल

पहिलो टी–२० श्रृंखलामा इंग्ल्याण्ड भारतविरुद्ध ७ विकेटले विजयी

पहिलो टी–२० श्रृंखलामा इंग्ल्याण्ड भारतविरुद्ध ७ विकेटले विजयी
माघ– १३ । भारतविरुद्ध बिहीबार भएको पहिलो टी–२० खेलमा इंग्ल्याण्ड ७ विकेटले विजयी भएको छ । भारतले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य इंग्ल्याण्डले १८.१ ओभरमा ३ विकेटको क्षतिमा भेटाउँदै जित निकालेको हो । इंग्ल्याण्डको लागि कप्तान इयोन मोर्गनले ३८ बलमा ५१ रन पूरा गरे । यस अर्धशतकसँगै उनी टी–२० मा १५ सय रन पूरा गर्ने इंग्लिस खेलाडी बनेका छन् । हालसम्म १२ ब्याट्सम्यानले मात्र उक्त उपलब्धि हासिल गरेको छ । यसका साथै रुटले नटआउट ४६ रन, विलिङ २२ र रोयले १९ रन इंग्ल्याण्डको लागि जोडे । भारतको लागि युझभेन्द्र चाहलले २ तथा पर्भेज रसोलले १ विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । भारतका लागि महेन्द्र सिंह धोनीले सर्वाधिक ३६ रन तथा सुरेश रैनाले ३४ रन बनाएका थिए । त्यस्तै, कप्तान विराट कोहलीले २९ रनको योगदान दिएका थिए । इंग्ल्याण्डको लागि मोहिन अलीले २ विकेट लिए भने टाइमेल मिल्स, क्रिस जोर्डन, लियम प्लङकेट र बेन स्टोक्सले १–१ विकेट लिए । दोस्रो खेल जनवरी २९ मा नागपुरमा हुनेछ ।

England VS India

विशेष