रहस्य खुल्योः यमबुद्धले मृत्युको बाटो रोज्नुमा लन्डनमा पाएको हुलाकीको जागिर थियो
माघ १४ । ११ लाख भन्दा बढी फ्यान फलोअर । लाखौं युवाको धड्कन । जता गयो उतै हाई हाई । नेपालमा र्याप ब्याटलका जन्मदाता । उनीभन्दा पहिले धेरै युवा र्याप हान्न हाए, ट्याब खाए अनि कता गए कसैलाई थाहा भएन यद्यपि यमबुद्ध आफ्नो कर्ममा टिकीरहे । । आखिर उनको पनि त्यही अवस्था आयो जुन अवस्था हरेक नेपाली कलाकारको आउँछ । रित्ता खल्तीमा कञ्जिेल र्याप हान्न सक्नु ? न राज्यको कुनै सहयोग न त परिवारको । यमबुद्ध डिपेन्डेन्ट भिसामा बेलायत पुगे । ससुराली घर लन्डन भएकोले खान बस्न समस्या भएन तर कति दिन घर ज्वाइ भएर बस्नु ? जिन्दगीभर सिकेको एउटै काम र्याप हान्नु... ।
नेपालमा चर्चित गायक, तर लन्डनमा उनलाई कसले गन्ने ? गायक होस वा नायक । काम नरेको दिन खानसम्म पाइँदैन । २–३ महिना एक रेस्टुरामा काम गरे पछि उनले युके रोयल मेलमा हुलाकीको काम पाए । काम कस्तो भने बिहान ८ देखि १२ बजेसम्म घर घरमा चिठ्ठी पुरयाउन जानु पर्ने । सोचेजस्तो भएन विदेश । कहाँ नेपालको त्यत्रो सम्मान, इज्जत प्रतिष्ठा कहाँ लन्डनको हुलाकीको जागिर । हुन त काम ठूलो सानो हुँदैन । तर भोग्नेलाई थाहा हुन्छ अचानोको पीडा ।
उनी सुरु देखि नै आफ्नो लन्डन बसाइबाट खुसी थिएनन् । एउटा सिर्जनशील मानिसलाई थुनेर हुलाकी बनाउँदा डिप्रेसन त हुने नै भयो । बेला बेला उनी आफ्नो पीडा साथीहरुसँग पोख्थे । परिवारसँग पनि उनी नेपाल गएर संगीत सिर्जनामा लाग्ने सल्लाह हुँदै थियो । तर परिवारको एउटा प्रश्नले उनलाई विचलीत बनाउथ्यो । ‘के र्याप हानेर परिवारको पेट पाल्न सकिन्छ ? ’
यमबुद्धसँग यसको जवाफ थिएन । उनी मन नलागी नलागी हुलाकीको काम गर्दै थिए । एक दिन त प्लम्स्टिडठ भन्ने ठाउँमा चिठी पुर्याउन जाँदा एक नेपाली युवतीले ढोका खोलिछिन् । आफ्नो ढोका अगाडि यमबुद्ध देखेर छक्क पर्दै उनले भनिछन् आम्मै यम दा हैन ? ह्वाट अ सरप्राइज। कसरी यहाँ ? त्यसपछि भएभरका साथीलाई बोलाएर फोटो खिचिछन् । रोयल मेलको रातो डेलिभरी युनिफर्म लगाएको उक्त तस्बिर भाइरल भयो । यम कमसेकम आफनो कामको तस्बिर सार्वजनिक नहोस भन्ने चाहन्थे ।
तर त्यो तस्बिर धेरै दिन लुक्न सकेन । धेरैले यमले नेपाल छाडेर विदेशमा नसुहाउने काम गरेको भन्दै आलोचना गरे । मानिस हो अरुको कुरा बिझिहाल्छ । कति पठक चिठी दिन जाँदा सम्बन्धित मानिसले टिप्स दिएको कुरा पनि लेखेका छन् उनले । त्यस्ता कुराले उनलाई नमज्जा लागेको थियो ।
(यो सामग्री चाइ येन येन नामको फेसबुकवालबाट, चाइले पनि यो सामग्री अन्यत्रैबाट साभार गरिएको उल्लेख गरेकी छिन् । हामीले भने यो सामग्री साप्ताहिकबाट लिएका हौं । )