समाज

मिराले फेरि विश्वको ध्यान तानिन्, ‘एड्भेन्चर अफ दि इयर –२०१७’ को उपाधि मिरालाई

माघ १४ । चर्चित टेलिभिजन च्यानल नेसनल जियोग्राफीकोे एड्भन्चर अफ दि इयर २०१७ मा अल्ट्रा म्याराथन धाविका मिरा राई विजयी भएकी छन् ।

विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा उनी अनलाईन भोटिङमार्फत विजयी भएको सो च्यानलले जनाएको छ । विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी नेपाली धाविका मीरा राई नेसनल जिओग्राफिले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) भएकी हुन् । सो च्यानलले राईसहित १० जनालाई मनोनयनमा पारेको थियो । बाह्र वर्षदेखि सञ्चालन हुँदै आएको यो प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ ।

भोजपुरकी मीरा किशोरी हुँदा माओवादी लडाकु बनेकी थिइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजन क्रममा उनी अयोग्य ठहरिएकी थिइन् । मीराको बाल्यकाल भोजपुरको गाउँमै बितेको थियो । गाईबस्तु चराउने र खेतीपातीमै बाल्यकाल बिताएको स्मरण गर्दै मीराले नेसनल ज्योग्राफिले लिएको अन्तर्वार्तामा भनेकी छन, ‘गाउँमा केटीहरूका लागि कुनै अवसर थिएन । पढ्ने–लेख्ने समय पनि हामी निकै कम पाउँथ्यौं ।’ यसैबीच १४ वर्षको उमेरमा उनी माओवादी ‘जनयुद्ध’मा सामेल भएकी थिइन् । उनले माओवादी लडाकुका रूपमा दुई वर्ष जंगलमा तालिमसमेत लिइन् । सेना समायोजन क्रममा अयोग्य भएपछि उनको खेल जीवन सुरु भएको थियो ।

mira rai

विशेष