नेपालमा सफल व्यवसायी, दार्जिलिङमा ‘सुशील भानिज’
एक व्यक्ति धेरै क्षेत्रमा कसरी सक्रिय रहन सक्छ ? यस्तो सक्रियता केही मानिसमा हुन्छ, जो स्वभावैले एउटै काम, एउटै क्षेत्र र एउटै भूगोलमा रमाइरहन सक्दैनन् । उनीहरुको जीवनको अक्सिजन भन्नु नै केही नौलो परिवेशमा नौला कामहरु गरिरहनु हुन्छ । उनीहरु त्यस्तैमा रमाउँछन् ।
त्यस्ता मानिसहरु मध्येका एक हुन् सुशील शाही । धेरै मानिसहरुका लागि उनको परिचय भनेका सहकारी सञ्चालकका रुपमा छ । तर उनी खेलकुद, समाजसेवा, संगीत, फिल्म आदिमा क्रियाशील छन् । पछिल्लो समय सहकारी बाहेकका क्षेत्रमा उनले धेरै समय दिन पाएका छैनन् । तर उनको पृष्ठभूमि नै यस्तै क्षेत्रहरुबाट बनेको छ ।
सुशील शाही २०२७ सालमा काठमाडौंको सुन्धारामा जन्मे । कर्मले उनलाई धेरैतिर घुमायो । सुशीलको किशोरवय नेपालमै बित्यो । १९ वर्षकै उमेरमा काठमाडौं छाडेर उनी भारत पुगे । नेपालीहरुको बसोबास भएका दार्जिलिङले त उनलाई माया र आत्मियता मात्रै दिएन जीवनसाथी पनि दियो । सुशीलकी जीवनसाथी भारतकी चेली हुन् । त्यो अटुट सम्बन्धका कारण पनि सुशीलको भावना दार्जिलिङसँग जोडिएको छ ।
सहकारीमा एक बेग्लै पहिचान बनाएका सुशीलको बाल्यकाल र त्यो बेलाका लक्षणहरुले उनलाई एक व्यवसायी बनाउने संकेत दिँदैन थियो । स्कुले बेलादेखि नै फुटबल, भलिबल, तेक्वान्दो भनेपछि उनी हुरुक्कै हुन्थे ।
भारतछिर्दा उनी १९ वर्षका थिए । भारत छिर्नु अघि नै सुशील खेलकुदमा अगाडि बढिसकेका थिए । तेक्वान्दोमा उनले ब्लाक बेल्ट पाइसकेका थिए । भलिबलको कोर्टमा युवाहरुको एक टिम भलिबल खेलिरहँदा फुच्चे सुशीलको ध्यान भलिबलमा पनि गयो । कोर्टबाट बाहिर गएको भलिबल टिप्थे तर हातले होइन भलिबललाई पनि फुटबल जसरी नै बेस्सरी सुट हान्थे । उनको सुट देखेर भलिबल खेलिरहेकाहरु छक्क पर्थे । ती मध्येका एक खेलाडीले उनलाई भनेका थिए, ‘यो भलिबल हो, लातले हान्नु हुँदैन । तर तिम्रो सुट राम्रो रहेछ ।’ सुशीलको तारिफ गर्ने ती युवा थिए –दुर्जकुमार राई । अहिले उनी सशस्त्र प्रहरीका महानिरीक्षक छन् ।
‘त्यो बेलादेखि दुर्जकुमार राईसँग गाँसिएको दाजुभाईका नाता अहिले पनि उस्तै छ । सायद मेरो इमान्दारीता र सरलताले होला, गाँसिएको सम्बन्ध हम्मेसी टुट्दैन ।’ सुशीलले भने ।
भारत छिरपछि पाएको माया
तेक्वान्दो सिकाउन सुशील १९ वर्षकै उमेरमा भारत पसे । स्कुलमा तेक्वान्दो सिकाउन गएका उनी उतै जागिरे भए । भारतको दार्जिलिङमा धेरैजसो समय बिताए । खेलकुद, सांस्कृतिक कार्यक्रम र अन्य क्षेत्रमा उनको लगावले गर्दा नेपालीभाषी दार्जिलिङेहरुसँग उनको दोस्ती जम्यो । खासमा सुशील दार्जिलिङका ज्वाई हुन् । तर उनी त्यहाँ ‘सुशील भानिज’का उपनामले चर्चित छन् । अहिले पनि उनी हरेक दशैंमा टीका लगाउन दार्जिलिङ जाने गर्छन् ।
उनको बुझाइमा दार्जिलिङका नेपालीहरुले नेपालको माया असाध्यै गर्छन् । नेपालको धर्म, सस्कृतिप्रति उनीहरुको मोह छुट्टै छ । नेपाली भाषी, नेपाली जाति हुनुको नाताले उनीहरु ढाका टोपी र दौरा सुरुवाल लगाउछन भने महिलाहरुले चौबन्दी र गुन्युचोली लगाउँछन् । प्रत्येक वर्ष दशैं तिहार र अन्य चाडपर्व नेपालमा भन्दा धुमधामसँग दार्जिलिङमा मनाइन्छ ।
दाजिलिलङमा सुशीललाई धेरैले मन पराउँछन् । उनी भन्छन, ‘स्वतन्त्रता दिवस मनाउँदा दार्जिलिङमा मलाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिन्छ ।’ अल इन्डिया तेक्वान्दो फेडेरेसनका निर्देशक शाहीलाई स्थानीय स्पोर्ट्स क्लब, सामाजिक, सांस्कृतिक संस्थाहरुले अतिथिका रुपमा बोलाउने गर्दछन् ।
दार्जिलिङमा उनको भूमिका खेल, सांस्कृतिक कार्यक्रम आदिमा हुन्छ । जसका कारण नेपालीमाझ सुशील शाही परिचित छन् ।
नेपालको पहिलो स्टन्टम्यान
जीवनको कुनै समय उनी फिल्म क्षेत्रमा पनि सक्रिय रहे । प्रत्यक्ष पर्दामा नदेखिए पनि उनी पर्दा पछाडिको हिरो जस्तै हुन् । किनकि, उनले नेपाली चलचित्र क्षेत्रमा धेरै प्रतिभाशाली द्वन्द्व निर्देशक जन्माए । नेपालको चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्कीसँगै हातेमालो गरेर धेरै काम गरे । खड्गीको चिफ असिस्टेन्ट भएर करिब ३२ वटा चलचित्रमा द्वन्द्व निर्देशन गरे । धिरेन शाक्य, सरोज खनाल, शिव श्रेष्ठलगायत धेरै हिरोहरुको एक्सन रोल डुब्लिकेट गरेका छन् ।
नेपाली फिल्ममा जमेका कलाकारहरु करिश्मा मानन्धर, शिव श्रेष्ठ, अशोक शर्मा, विपना थापा, मोनाली सिंहआदिसँग उनको दोस्ती पुरानै हो । उनीहरुले गर्नुपर्ने स्टन्टमा शाहीले डुप्लिकेट गरेका थिए । उनी भन्छन्, ‘साच्चै भन्ने हो भने नेपालको पहिलो स्टन्टम्यान खोज्ने हो भने मै पर्छु होला ।’
म्युजिकमा रम्ने स्वभाव
संगीतको दुनियाँमा समेत उनले आफ्नो नाम सुरक्षित राखेका छन् । उनी गितार बजाउने नाच्ने र गाउनमा सानैदेखि शौखिन थिए । शाहीको दाबी अनुशार उनको एल्बम पनि निस्किएको छ । उनले भने, ‘आनि छोईङको फूलको आँखामा फूलै संसार भन्ने भिडियो मेरै स्याक कम्पनीले निकालेको हो । स्याकको निर्देशक मै हो । तिर्काल र रागमणि नामका दुई धुन एल्बममा पनि उनले निकाले । १३ वर्ष अगाडि निस्केको ‘अनुराग’ नामक भक्ति गीत क्यासेट देखाउँदै भने, ‘अब हेर्नुस् त जमाना कसरी बदलियो । मैले नै निकालेको यो क्यासेट अब सुन्नका लागि प्लेअर पनि नपाउला जस्तो भइसक्यो । क्यासेट, एल्बमलाई चिप्सले खाइदियो ।’
सहकारीमा प्रवेश
उनी २०४८ सालमा इण्डियाबाट फर्के । त्यसपछि नेपाल–इण्डियाको क्रम चलिरह्यो । नेपालमा कुनै पेशा व्यवसाय गरेर बस्ने सोेच थिएन । उनको मामाको छोराले सहकारीमा सहकार्य गर्न उनलाई धेरै न जिद्धी गरे । सहकारीको ‘स’ पनि जानेको छैन भन्दै प्रस्ताव ईन्कार गरिदिए । धेरै नै कर गरेपछि उनी १० लाख लगानी गरेर सहकारीको पार्टनर बने । तर उनको पार्टनरले उनलाई धोका दिए । सात लाख बोकेर कुलेलम ठोके । अब उनलाई फसाद पर्यो ।
व्यवसायका बारे केही नजान्ने उनी अब के गर्ने भन्ने दोधारमा परे । छोडेर हिडाैं धेरैले पैसा जम्मा गरेसकेका छन, चलाउँ भने आफूलाई ज्ञान छैन । तर, उनले सहकारी चलाएर छाडे । १७ वर्ष अघि स्थापना भएको सूर्य सहकारी अहिले राजधानीको नामी सहकारी भएको छ । उनी भन्छन ‘म यत्रो सहकारी चलाउन सक्ने सामथ्र्य भएको मान्छे नै होईन । तर मेरो श्रीमती, मेरा सहकर्मी साथीहरुको समर्पणले मलाई यो सफलता प्राप्त भएको हो ।’
फिल्म, खेल, सामाजिक क्रियाकलापमा रमाउने सुशीलको सहकारी सफल छ । सूर्य सहकारीले २८ जना कर्मचारीलाई रोजगारी दिएको छ । ४०० जना भन्दा बढी सेयर होल्डर छन् । यसवर्ष यो सहकारीले ३१ लाख मुनाफा कमायो ।
राजनीति प्रति घृणा
राजनीतिका सवालमा शाहीको धारणा आम नेपालको जे छ त्यही छ । उनी भन्छन् ‘देश राजनीतिले बिगारेको छ ।’ जात, धर्म, सम्प्रदाय, भुगोलको राजनीतिले देश विखण्डन हुदै गएको उनको दाबी छ । उनी भन्छन ‘म समाचार हेर्दै गर्दा नेताको अनुहार टिभीमा आयो भने च्यानल चेन्ज गरेर भजन हेर्छु । तर नेताको अनुहार हेर्दिन । किनकी, देश बिगारेको नेताले हो । भगवान नभएको भए देश उहिल्ले ध्वस्त भईसक्थ्यो । देशमा भगवान नहुुँदो हो त म यो देश उहिल्लै छोडिसक्थे । भगवानको मायाले यो देशमा म बसिरहेको छु । यो देश नेताले हैन भगवानले चलाइरहेका छन् ।’
सच्चा देशभक्तले नेपालमा गरि खान सक्ने अवस्था नभएको उनी बताउँछन् । इमान्दर मानिसभन्दा चोर डाका र फटाहाहरुले रजाइँ गरेको उनको बुझाइ छ ।
उनी भन्छन् ‘यो देश त नेपालका ठूला पार्टीहरुको र उनीहरुको कार्यकर्ताको देश भएको छ । नेपाल सरकारको कर्मचारीको देश भएको छ । गुण्डाहरुको देश भएको छ । सच्चा र ईमान्दार मान्छेहरुले यहाँ गरेर खान गाह्रो भएको छ ।
– सागर बुढाथोकी
sushil shahi sushil vanij