देश

अर्नाको साटो कोसीमा एक सिङ्गे गैंडाको माग

अर्नाको साटो कोसीमा एक सिङ्गे गैंडाको माग
माघ - १४ । चितवनमा अर्ना ल्याइएपछि अहिले कोसीटप्पु आसपासका स्थानीय बासिन्दा तथा संरक्षणकर्मीले चितवनबाट गैंडा दिन माग गरेका छन्। अर्ना नभएको चितवनमा अर्ना स्थानान्तरण हुँदै गर्दा स्थानीय संरक्षणकर्मीले भने कोसीमा दुर्लभ एक सिङ्गे गैंडाको माग गरेका हुन्। कोसीबाट चितवनमा पठाइएको दुई वटा अर्ना आज सार्वजनिक हुँदैछन्। ‘चितवनमा अर्ना लगिएपछि हामीलाई पनि यहाँ गैंडा दिनुपर्छ,’ पश्चिम कुशाहालौकही मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष राजकुमार सिंहले भने। आफूहरुले अहिले मन कुँड्याएरै अर्ना दिएको बताउने सिंहले अब जसरी हुन्छ आफूहरुले पनि गैंडाको संरक्षण गर्न पाउनुपर्ने माग गरे। अर्ना स्थानान्तरण हुन लागेको थाहा पाएपछि पहिले आन्दोलनको अगुवाई गर्नेमा उनी पनि एकजना छन्। ‘विरोधका बीच अहिले अर्ना लैजान दिन सहमति जनाएका छौंँ, वंश संरक्षणका लागि हो भने त गैंडाको पनि वंश संरक्षणका लागि कोसीवासीलाई दिनुपर्‍यो नि ’ – उनले भने। कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले समेत कोसीलाई गैंडा दिन माग गरिएको बताए। विभागमा समेत यो माग पुर्‍याइएको र यसप्रति सकारात्मक रहेको उनको प्रतिक्रिया छ। ‘नदी तटीय क्षेत्र भएकाले दुई मिटरमै पानी निस्कन्छ, बर्दियामा जस्तो ढुङ्गा छैन, गैँंडाको स्याउ भनेर चिनिने भेल्दर पनि छ,’ प्रमुख शाहले भने, – कोसीमा गैंडाका लागि उपयुक्त बासस्थान छ।  बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ढुङ्गा गेग्य्रान हुँदासमेत गैंडा राखिएको तर कोसीमा उपयुक्त स्थान हुँदा पनि गैंडा नहुनु बिडम्वना भएको स्थानीयवासी बताउँछन् । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल कोसीमा गैंडा लैजाने सम्भावनाका बारेमा बहस भइरहेको बताउँछन्। परापूर्वकालमा यहाँ गैंडा रहेको भए पनि निकुञ्जको अभिलेखमा भने नरहेको तर कोसी गैंडाका लागि अत्यन्त राम्रो बासस्थान उनको दाबी छ । कोसी क्षेत्रफल अलि सानो छ। सुरक्षा चुस्त पार्नुपर्ने आवश्यकता भएकाले यसतर्फ आफूहरु गम्भीर भएर लागेको आरक्षका प्रमुख शाह बताउँछन्। अहिले भगवती गुल्म भएकाले आरक्षले सेनाको गण नै माग गरेको छ। एक सय ७५ वर्ग किलोमिटरमा फैलिएको कोसीमा अहिले चार सय ३२ अर्ना छन्। चराहरु ५२० प्रजातिका छन्। डल्फिन ११ वटा छ भने गोही ७ वटा र गिद्ध २५० भन्दा बढी छन्। यो आरक्ष २०३२ सालमा स्थापना भएको हो। कोसी गैंडाको बासस्थानका लागि समेत उपयुक्त क्षेत्र भएको यहाँका संरक्षणकर्मीको दाबी छ। सीमाक्षेत्र भएकाले संरक्षणमा अलि चुनौती छ।चितवन निकुञ्जबाट बर्दिया र शुक्लाफाँटामा यो वर्ष पनि गैंडा स्थानान्तरण गरिँदै छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्का कोसीटप्पुबाट अर्ना ल्याउने काम सकिने बित्तिकै गैंडा स्थानान्तरणको प्रक्रिया सुरु गरिने बताउँछन्। तर कोसीमा गैंडा लाने विषयमा भने कुनै निर्णय भएको छैन। गैंडा बर्दिया र शुक्लाफाँटामा लैजाने तयारी छ। अघिल्लो वर्ष चितवन निकुञ्जबाट पाँचवटा गैंडा बर्दिया पठाइएको थियो। तीन वर्षमा चितवनबाट बर्दिया र शुक्लाफाँटामा गरी ३० गैंडा स्थानान्तरण गरिने २०७१ सालको सरकारी निर्णय छ। नेपालमा ६४५ गैंडा छन् जसमा चितवनमा मात्रै ६०० को हाराहारीमा रहेको अनुमान छ।

कोसीटप्पु

विशेष