समाज

इन्टरनेटले पठन संस्कृति घट्यो- सञ्चारमन्त्री कार्की

इन्टरनेटले पठन संस्कृति घट्यो- सञ्चारमन्त्री कार्की
माघ–१४ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले इन्टरनेटको माध्यमका कारण पठन संस्कृति घट्दै गएको बताएका छन् । कवि शम्भुकुमार मिलनद्वारा लिखित ‘आँखामा जापानः मनमा नेपाल’ नामक यात्राकाव्यको शुक्रबार विमोचन गर्दै उनले पाठकलाई आकर्षित गर्न पठन संस्कृतिको अभिरुचिअनुसार लेख, सामग्री प्रकाशन गर्न लेखक, साहित्यकारको ध्यान जानुपर्ने औँल्याए । सञ्चारमन्त्री कार्कीले लेखक, साहित्यकारको बाँचुन्जेल सम्मान नहुने तर मृत्युपछि गुणगान गाउने परिपार्टी अन्त्य गरी जीवितै अवस्थामा सम्मान गर्ने परम्परा बसाल्नुपर्नेमा जोड दिए । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यको बृहत्तर विकासमा लेखक सर्जकको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरुको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने धारणा राखे । कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेलगायत विशिष्ठ सर्जकको उपस्थिति थियो । रासस

इन्टरनेट पठन संस्कृति सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की

विशेष