खेल

आहा ! रारा गोल्डकपको फाइनलमा मनाङ र सहाराको दोस्रो भेट, उपाधि कसले चुम्ला ?

आहा ! रारा गोल्डकपको फाइनलमा मनाङ र सहाराको दोस्रो भेट, उपाधि कसले चुम्ला ?
माघ–१५ । पोखरा रंगशालामा माघको ४ गते बाट सुरु भएको १५ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार हुँदै छ । १५ औँ संस्करणको फाइनलमा आयोजक सहारा क्लब र ४ पटकको विजेता मनाङ मस्र्याङदी बीच खेल हुनेछ । शनिबार हुने फाइनल सहारासँग मनाङको आहा–रारा उपाधि भिडन्तमा दोस्रो भेट हो । यसअघि १२ औँ संस्करणमा सहाराले मनाङले १–० ले पराजित गरेको थियो । त्यसो त मनाङले आहा रारा गोल्डकपको दोस्रो, तेस्रो, १० औँ र १४ औँ संस्करणको उपाधि चुमिसकेको छ । आफ्नै आयोजनामा प्रतियोगिताको फाइनल पुग्नु सहाराको लागि यो भने तेस्रो अवसर हो । ११ औँ संस्करणमा सहारा फाइनलमा थ्री स्टारसँग १–० ले पराजित भएको थियो । फाइनलसम्म आउनको लागि सहारा क्लबले सुदूरपश्चिम–११ लाई ४–०, युनाइटेड सिक्किमलाई टाइब्रेकरमा ४–२ ले र सेमिफाइनलमा त्रिभुवन आर्मीलाई पनि टाइब्रेकरमा ४–३ ले हराएको थियो । त्यस्तै बंगलादेशमा खेल्ने तयारीमा रहेको मनाङले धरानलाई ४–१ र संकटालाई १–० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । यस संस्करणमा थ्री स्टार क्लबको सहभागी थिएन । दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् । मनाङ बलियो टिम भएकाले जितका लागि सक्दो मिहिनेत गर्ने सहाराका प्रशिक्षक किरण श्रेष्ठले बताए । उनले अनुशासित ढंगले राष्ट्रिय खेलाडीहरु भएको टिमको चुनौतीलाई चिर्ने बताए । सहाराका कप्तान उत्तम गुरुङले प्रशिक्षक श्रेष्ठको निर्देशन पूर्ण मिहिनेतका साथ पालना गर्दै उपाधि जित्ने विश्वास व्यक्त गरे । त्यस्तै यता १० औँ पटक फाइनलको यात्रासम्म आएको मनाङले पनि सहारालाई उपाधि भिडन्तमा सहज प्रतिद्वन्द्वीको रुपमा लिएको छैन । मनाङ पनि सहारासँग त्रुटिरहित खेल खेल्ने योजनामा छ । मनाङका प्रशिक्षक छिरिङलोप्साङ गुरुङले राष्ट्रिय र अनुभवी खेलाडीहरुको मिहिनेतले उपाधि जित्ने विश्वास व्यक्त गरे । मनाङका कप्तान अनिल गुरुङले सहाराविरुद्ध खेलकै उत्कृष्ट खेल प्रदर्शन गर्दै जित निकाल्ने दाबी गरे । प्रतियोगिताको विजेताले ५ लाख १ हजार १ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई हिरो कम्पनीको स्कुटर प्रदान गरिनेछ र उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वा्धिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

आहा रारा गोल्डकप फाइनल मनाङ र सहारा

विशेष