तीन औषधि पसलमा सिलबन्दी

माघ–१५ । धनकुटाकाे पाख्रिबास नगरपालिकामा अवैधानिक रुपमा सञ्चालनमा रहेका एक क्लिनिकसहित तीन औषधि पसलमा जिल्ला अनुगमन समिति धनकुटाले सिलबन्दी गरेकाे छ ।
सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीले शुक्रबार धनकुटाको पाख्रिबास नगरपालिका–४ बजार क्षेत्रमा रहेको रहेको पाख्रिबास पोलिक्लिनिकलाई बन्द गरे हो । पोलिक्लिनिकमा विभिन्न रोगका विषेशज्ञको सेवा उपलब्ध छ भनेर भ्रममा पार्ने गरिएको र अनुमतिविना भिडियो एक्सरे र प्रयोगशाला सञ्चालन गर्ने गरिएको पाइएपछि सिल लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराईले बताए ।
यसैगरी अनुगमन टोलीले नगरक्षेत्रमा सञ्चालनमा रहेका दुई एग्रोभेटसमेत बन्द गरेको छ । एग्रोभेट सञ्चालक जिल्ला पशुसेवा कार्यालय धनकुटामा कार्यरत राजकुमार राई र पाख्रिबास निवासी राम निरौलाले अनुमति नलिई औषधि पसल सञ्चालन गरेको र पसलमा अदक्ष मानिस राखी पशुपक्षीको औषधि र विषादी बेचबिखन गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
पाख्रिबासकै एक किराना पसलमा मदिराजन्य र सूर्तीजन्य पदार्थ खुलेआम बेचबिखन गरेको र कतिपय म्याद नाघेका सामग्री पनि बेच्न राखेको भेटिएपछि अनुगमन टोलीले त्यसलाई पनि बन्द गरिदिएको छ । अनुगमन टोलीमा उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, सुरक्षा निकाय, सम्बन्धित क्षेत्रका विज्ञ र उपभोक्ता सङ्घलगायतको प्रतिनिधि रहेका छन् । रासस
धनकुटा
सिलबन्दी