तामाङहरुको नयाँ वर्ष आजदेखि शुरु, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना
माघ १५ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष एवम् तामाङ समुदायको चाडपर्वका विषयमा खोज गरिरहनुभएका सम्पूर्णकुमार लामाले जानकारी दिए ।
‘यस वर्ष बौद्ध स्तुपको चार ढोका खुल्ने अवसर परेकाले पनि सोनाम ल्होसार विशेष रुपमा मनाइँदैछ, स्तुप निर्माणको काम चरा वर्षका दिन सुरु भई १२ वर्षपछि चरा वर्षमै सकिएकाले आज बौद्धका चार ढोका खोलिन्छ, आज दर्शनार्थीलाई चारै ढोकाबाट दर्शन गर्न दिइन्छ’ उनले भने । यस अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलाई सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलाई सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले आफ्नो सन्देशमा भनेका छन, ‘जनताको संघर्ष र वीरतापूर्ण बलिदानबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौँ । संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यन्वयन गर्नु तथा हिमाल, पहाल र तराईंका सवै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृतिको दिशामा अगाडि बढनु आजको आबश्यकता हो । यसका लागि सरकार संवाद र सहमतिको आधारमा लक्ष्य हासिल गर्न क्रियाशिल रहदै आएको छ । यस अवसरमा तामाङ समुदाय तथा यस पर्व मनाउने सम्पूर्ण जनसमुदायलाई राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न हार्दिक अपिल गर्दछु । ’