समाज

भारतीय गणतन्त्र दिवसमा खुसी साटासाट, सर्वसाधारणलाई मिठाइ वितरण

भारतीय गणतन्त्र दिवसमा खुसी साटासाट, सर्वसाधारणलाई मिठाइ वितरण
माघ–१५ । मित्र राष्ट्र भारतको ६८औँ गणतन्त्र दिवसको अवसर पारेर नेपाल-भारत सीमा क्षेत्र बेलहियामा नेपाल र भारतका नागरिकले खुसी साटासाट गरेका छन् । उक्त कार्यक्रममा दुवै देशका नागरिक, सांसद, उद्योग वाणिज्य सङ्घका नेता तथा पत्रकारले खुसी साटासाट गरेका हुन् । नेपाल-भारत मैत्री सङ्घ बेलहिया उपशाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपालको व्यवस्थापिका-संसद्का सांसद इस्तियाक अहमद खानले मित्रराष्ट्र भारतको गणतन्त्र दिवसले अवसरमा दुबै मुलुकका सीमावर्ती क्षेत्रका जनताबीचको सम्बन्ध सुदृढ गर्ने अवसर जुराइदिएको बताए । उपशाखाका अध्यक्ष श्रीचन्द गुप्ताको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गोरखा भूपू सैनिकका क्याप्टेन डम्बर गुरुङले नेपाल र भारतका जनताको सम्बन्ध सदियौँदेखि मिलेर बस्दैआएको बताए । सो अवसरमा नेपाल-भारत मैत्री सङ्घका केन्द्रीय पूर्व अध्यक्ष मुरारी अग्रवालले दुई देशका नागरिकस्तरमा कायम सम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रम फलदायी हुने बताए । कार्यक्रममा भारतीय अतिथि भारतीय उद्योग व्यापार मण्डलका अध्यक्ष विजय रौनियार, भारतीय सेनाका मनोज राना, सुनौली ग्रामका पूर्व प्रधान रामानन्द रौनियार र नेपालका तर्फबाट नेपाल-भारत मैत्री सङ्घका केन्द्रीय सदस्य उमापति न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष डा. शान्तकुमार शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस अवसरमा दसगजा क्षेत्रमा ओहरदोहर गरेका सर्वसाधारणलाई मिठाइसमेत वितरण गरिएको थियो । रासस  

नेपाल–भारत भारतीय गणतन्त्र दिवस

विशेष