स्वदेशी नांगा साबुनविरुद्ध धावा बोल्ने भारतको युनिलिभर रहेछ
माघ १४ । खोलबिनाका साबुनले जनस्वास्थ्यमा हानी पुग्छ भन्दै पत्रिकामा फुल पेज विज्ञापन दिने कम्पनी भारतको बहुराष्ट्रिय कम्पनी युनिलिभर रहेको खुलासा भएको छ ।
हालै युनिलिभरको तर्फबाट भारत केन्द्र रहेको बहुराष्ट्रिय विज्ञापन एजेन्सी थम्पसनको नेपाली शाखा थम्पसन नेपाल प्रालीले प्रकाशन गर्न लगाएको यस क्षेत्रका जानकारहरुले बताएका छन् । खोलबिनाको साबन उत्पादन गर्ने हिमगिरी सोप एन्ड केमिकल इन्डस्ट्रिजका कार्यकारी निर्देशक महेश जाजु भन्छन्, ‘त्यस्तो विज्ञापन प्रकाशित गरेर उपभोक्तामा भ्रम छर्ने को हो भनेर त प्रेस काउन्सिलले पनि प्रश्न गरेको सुनेँ । स्वदेशी उद्योग माथिको आक्रमणका रुपमा मैले यो प्रकरणलाई लिएको छु ।’
खोलबिनाका साबनको कुनै लभेल नहुने भएकोले युनिलिभरको विज्ञापनमा ‘लेभल चाहिन्छ लेभल’ भनेर विज्ञापन गरिएको थियो । तर विज्ञापन दिनेको भने कुनै नाम थिएन । अर्काको लेभल चाहिनेले आफ्नो लेभल राख्नु पर्छ कि पर्दैन ? भन्ने प्रश्न धेरैले उठाएका छन् ।
जनहितका नाममा युनिलिभरले सार्वजनिक गरेको विज्ञापन दिनेको नाम नभएपछि प्रेस काउन्सिलले पनि विज्ञापन प्रकाशित गर्ने पत्रिकाहरुलाई पत्र काटेको छ ।
प्रेस काउन्सिलको पत्रमा लेखिएको छ, ‘विज्ञापनको विश्वसनीयताको लागि विज्ञापन दिने व्यक्ति वा संस्थाको नाम अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेमा सोको विपरीत सम्प्रेषित उक्त विज्ञापनबाट पत्रकार आचारसंहिता २०७३ को दफा ४, ५, ७ र ८ उल्लंघन भएको हुँदा विज्ञापन दिने व्यक्ति र संस्थाको नाम उल्लेख नगरी विज्ञापन सम्प्रेषित नगर्न नगराउन हुन सम्पूर्ण सञ्चार माध्यमहरुलाई प्रेस काउन्सिल नेपाल सचेत गराउँदछ ।’
उक्त रंगिन विज्ञापन प्रकाशित भएको तर कसले दिएको भन्ने नखुलेकोले काउन्सिलको ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति पनि जारी गरेको हो ।
जानकारहरुका अनुशार सामान्यतः साबुनमा एनिमल टेलो अर्थात पशुको बोसो मिसाइएको हुन्छ । कुन साबुनमा बोसो मिसाइएको छ कुनमा छैन भन्ने परीक्षण गर्ने प्रविधि जटिल हुन्छ । यसकारण पनि साबुनमा बोसो मिसाएको दाबी प्रमाणित गर्न कठिन छ ।
नेपालमा २५ वटा जति उद्योगहरु छन् जसले खोल बिनाका साबुन उत्पादन गर्छन् । खोल भएका साबुनमा बोसो नहुने तर खोल बिनाका साबुनमा बोसो हुन्छ नै भने झै गरी विज्ञापन गर्नुको मतलव स्वदेशी उद्योगमाथि आक्रमण गर्न खोज्नु हो –हिमगिरी सोपका कार्यकारी निर्देशक जाजु भन्छन् ।
उपभोक्तावादीहरुले भने यो लडाई बोसो र केमिकलबीचको भएको बताउँछन् । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ भन्छन्, ‘नेपालका कतिपय उद्योगले साबुनमा बोसो मिसाउँछन् । भारतीय कम्पनीले केमिकल । अब नेपाली उत्पादनमा बोसो हुन्छ भनेर हल्ला गरिदिएपछि धर्ममा आस्था राख्नेहरुले स्वदेशी साबुन प्रयोग गर्दैनन् । धर्ममा प्रहार गरेर आफ्नो सामान बेच्ने विदेशीहरुको चाल हो ।’ अध्यक्ष बानियाँका अनुशार साबुनमा बोसो मिसाउँदैमा हानी केही पनि हुँदैन । तर केमिकल हानीकारक हुन सक्छ । किनभने बोसोको साइड इफेक्ट केही पनि हुँदैन । त्यसमाथि कपडा धुने साबुनको त झनै हुँदैन ।
र याे पनि
http://nepalaaja.com/2017/01/53239