देश

चितवन राष्ट्रिय निकुञ्जमा अर्को अर्ना थपियो, पाँच भालेसहित २० वटा अर्ना ल्याउने योजना

चितवन राष्ट्रिय निकुञ्जमा अर्को अर्ना थपियो, पाँच भालेसहित २० वटा अर्ना ल्याउने योजना
माघ - १५ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट थप एउटा अर्ना चितवन राष्ट्रिय निकुञ्ज ल्याइएको छ । शुक्रबार दुईवटा अर्ना ल्याएर चितवन निकुञ्जमा सार्वजनिक गरिएकोमा शनिबार बिहान थप अर्को पोथी अर्ना चितवन निकुञ्जमा थपिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । अहिले अर्ना समात्ने चिकित्सक र प्राविधिज्ञसहितको टोली कोसीटप्पुमै रहेको छ । चितवन निकुञ्जमा तीनवटा अर्ना आइपुगेका छन् । शुक्रबार वनमन्त्री शङ्कर भण्डारीकै उपस्थितिमा दुईवटा अर्ना निकुञ्ज पुर्याइएको थियो । छ वर्षको पोथी अर्ना समाएर चितवन पठाइएको र शनिबार पनि अर्ना समाउने प्राविधिक टोली कोसीको आरक्षमा खटाइएको आरक्षका प्रमुख श्यामकुमार शाहले जानकारी दिए । कोसीबाट चितवनमा पाँच भालेसहित २० वटा अर्ना ल्याउने योजना छ । क्रमैसँग अर्ना ल्याइने चितवन निकुञ्जले जनाएको छ । अर्ना लोप नहोस् भनेर वंश संरक्षणका लागि यसरी स्थानान्तरण गरिएको हो । सन् १९६० को दशकअघि चितवनमा अर्ना रहेको र पछि लोप भएको पुराना संरक्षणकर्मी रामपृत यादव बताए । अर्ना स्थानान्तरणको काम जुलोजिकल सोसाइटी अफ लन्डन, डब्लुडब्लुएफको हरियो वन कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निकुञ्ज विभागको समन्वयमा भएको हो । अर्ना ल्याउने काम सकिएपछि बाह्रसिङ्गे ल्याउने र गैँडा स्थानान्तरणको काम सुरु हुने निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले जनाए ।

Arna

विशेष