समाज

'पाँच वर्षभित्र एक घर एक धारा'

'पाँच वर्षभित्र एक घर एक धारा'
माघ - १५ । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई हठ त्यागी सहमतिको राजनीतिमा आउन आग्रह गरेका छन्। नेपाल प्रेस युनियन, दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खड्काले लोकतन्त्रमा सबै पक्षको आवाज सुन्नुपर्ने र उचित माग पूरा हुने भएकाले पनि एमालेले मधेस र आदिवासीलगायतका कुरालाई सुन्नुपर्ने बताए। एमाले जति कडा बन्दै जान्छ, मुलुक झनै अन्योलताको भूमरीमा पर्ने उनले बताए। काँग्रेसका नेतासमेत रहेका मन्त्री खड्काले समयमै लचकता अपनाउन एमालेलाई आग्रह गरे। उनले मधेसी र आदिवासी जनजातिलगायतका कैयौँ समुदायहरु उत्पीडितमा रहेको र संविधान संशोधनमार्फत उनीहरुको माग सम्बोधन हुने भएकाले संशोधनमा लचकता अपनाउन एमालेलाई आग्रह गरे। अर्को एक प्रसङ्गमा उनले सरकार निर्वाचनको घोषणाको तयारीमा जुटिसकेको बताए। अब दलहरुसँग छलफल गरी तीनवटै निकायको निर्वाचन एक वर्षभित्र सम्पन्न हुने गरी मिति घोषणा हुने बताए। मन्त्री खड्काले पिउने पानीलाई आधारभूत आवश्यकताका रुपमा सरकारले लिएको बताउँदै, अबको पाँच वर्षभित्र एक घर एक पानी धारा हुने जानकारी दिए। हाल एक वर्षभित्रै सम्पन्न हुने गरी देशभरमा पाँचहजार एकसय खानेपानीका योजना सञ्चालन भइरहेको जानकारीसमेत दिए। राज्यमन्त्री खड्काले नेपालमा आधारभूत खानेपानी ८५ प्रतिशत र आधारभूत सरसफाइ ८६ प्रतिशत जनतामा पुगिसकेको बताउँदै आगामी एक वर्षभित्रै सबैको पहुँचमा सेवा पुर्याउन सरकार लागिपरेको बताए। तराईका जनताले अझै पनि स्वच्छ पिउने पानी उपभोग गर्न नपाएको बताउँदै तराईमा डिपबोरिङको माध्यमबाट त्यहाँका जनतालाई स्वच्छ पिउने पानी र पहाडी क्षेत्रमा लिफ्ट सिस्टमबाट जनतालाई स्वच्छ पानी पु-याउने योजना सरकारले अगाडि सारेको राज्यमन्त्री खड्काले बताए।

दीपक खड्का

विशेष