विचार स्वास्थ्य

दाइजोको पिरले बालिकाहरु भ्रुणमै मारिन्छन्

दाइजोको पिरले बालिकाहरु भ्रुणमै मारिन्छन्

— डा. सि.के सिंह


विवाहको समयमा बेहुली तर्फबाट बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामानलाई नै दाइजो भनिन्छ । यसलाई तराई तथा मधेसतिर दहेज पनि भनिन्छ । सामान्यतः दैनिक जीवनमा चाहिने घरेलु सामानहरु जस्तै फर्निचर, लत्ताकपडाका सामाग्रीहरु दाइजो दिइन्छ । सुनचाँदी हिरामोतीका महंगा गरगहनाहरु पनि दाइजोमा पर्छन् । समयक्रमसँगै आधुनिक सुविधाका सामाग्रीहरु जस्तै टिभी, मोटरसाइकल, कम्प्यूटर, कार, जस्ता सामाग्रीहरु पनि दाइजोको रुपमा दिइने गरेको पाइन्छ ।



सामान्यतः दाइजोलाई बेहुलीतर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइएका उपहारको रुपमा अत्यन्त हलुका ढंगले लिएको मात्र पाइन्छ । सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भयानक र् दर्दनाक छ । किनकी दाइजो सामान्यरुपमा उपहारजस्तो बुझिन्छ । उपहार त दिए पनि हुन्छ र नदिए पनि हुन्छ । तर, दाइजो त सदियौँदेखि हाम्रो समाजमा एक कुप्रथाको रुपमा जरा गाडेको छ ।

दाइजो एक प्रथा भएकाले यो बाध्यात्मक छ । यसले समाजमा असमानता, उत्पिडन, हत्या तथा हिंसा जस्ता जघन्य सामाजिक अपराधहरुलाई मलजल गरिरहेको छ । दिनहुँ जस्तो हाम्रो समाजमा घट्ने महिला हिंसा, हत्या, आत्महत्याजस्ता घटनाहरु यसका ज्वलन्त प्रमाणहरु हुन् । यस्ता घटनाहरुको प्रमुख दाइजो प्रथा हुने गरेको सम्बन्धित अनुसन्धानहरुले पुष्टि गरेको छ ।

तसर्थ आज हरेक सचेत नेपालीले सोच्नुपर्ने बेला आएको छ । दाइजोले कस्ता कस्ता समस्या एंव विसंगतिहरु निम्त्याउँछ र यसको सामाधानका लागि के गर्नुपर्छ ? भन्नेजस्ता कुरामा आम नागरिक सचेत हुनु जरुरी छ ।

विवाहलाई हाम्रो समाजले पवित्र सांस्कृतिक तथा धार्मिक मान्यता प्रदान गरेको छ । यसलाई शुभ साइत निकालेर गरिन्छ । यो मान्यता भित्र दाइजो दिनुपर्छ भन्नेबारे कहीँ कतै पनि उल्लेख गरिएको छैन । तर पनि एक पवित्र विवाह मण्डप दाइजोका लागि राखिएका रंगी चंगी भौतिक सामाग्रीहरुले भरिएको हुन्छ ।

यसरी सार्वजनिक ठाउँमा सबैलाई देखाउनका लागि राखिनुलाई दाइजो एक सामाजिक देखासिकी एवं प्रतिष्ठाको विषय बनेको प्रष्ट हुन्छ । शैद्धान्तिक रुपमा दाइजो लिनु दिनु हुँदैन भनेर पढिए पनि व्यवहारिक रुपमा हामी विशेषतः बालबालिकाहरुलाई दाइजो विवाहको अनिवार्य शर्त पो रहेछ भन्ने पाठ सिकाइरहेका हुन्छौँ ।

अझ भन्नुपर्दा नेपालको तराई मधेसका कतिपय ठाउँहरुमा त केटाको पढाइ र जागिरलाई दाइजोको मानकका रुपमा पनि लिइएको पाइन्छ । जति धेरै पढाइ वा जागिरको कमाइ, उति नै धेरै दाइजो ! सामान्यतः शिक्षालाई सामाजिक समस्या विवरणका लागि घोतकका रुपमा लिइन्छ । तर, दाइजो प्रथाका सम्बन्धमा भने विराधाभाष पाइन्छ । तसर्थ शिक्षित परिवार भित्र पनि दाइजो प्रथालाई प्रश्रय दिइनाले समाजमा यसले विकराल रुप लिएको छ ।

दाइजो प्रथा नराम्रो हो भन्ने शैद्धान्तिक ज्ञान हुँदाहुँदै पनि यो प्रथालाई प्रयोग गरिनुले यो एक गम्भिर समस्या हो भन्ने कुरा पुष्टि गर्छ । यो हाम्रो मानसिकतामा गाँसिएर बसेको छ । दाइजो प्रथाले समाजमा निम्त्याएका विसंगती निवारण गर्न हामीले आफ्नो उत्तरदायित्व वहन अग्रसर नभएको पुष्टि हुन्छ ।

यसर्थ आज हरेक सथेत नागरिकले दाइजो प्रथाले निम्त्याउने नकारात्मक पाटाहरुका बारेमा संवेदनशील भएर मानसिक एंव सामाजिक परिवर्तनका लागि एकबद्धता जाहेर गर्नुपर्ने बेला आएको छ ।

दाइजो प्रथाका नकारात्मक पाटाहरु धेरै छन् यसको प्रभाव बेहुली पक्षलाई पर्न जान्छ । जुन विवाहको मगनीको बेलादेखि नै सुरु हुन्छ । किनकी अधिकांस विवाहमा विशेषतः तराइ मधेसमा बेहुलीपट्टिले बेहुलापट्टिलाई के के दिनुपर्छ भनेर छिनोफानो हुन्छ । शर्त पूरा भएमात्र विवाह निश्चित हुन्छ ।

कतिपय अवस्थामा विवाह अघि नै नगद आदि दाइजो दिइसक्नुपर्ने हुन्छ । शर्त पूरा नहुँदा विवाह नै भाँडिएका घटनाहरु पनि बेलाबेलामा बाहिर ,आइरहन्छन् । यसर्थ दाइजो बेहुली पक्षलाई आर्थिक तथा मानसिक रुपमा अत्यन्त बोझिलो साबित हुन जान्छ ।

कतिपय परिववारले छोरीलाई शिक्षा दिएर सक्षम तुल्याउँछु भन्दा पनि विवाहमा दाइजो दिन सम्पतिको जोहो गर्न थाल्छन् । अर्थ जुटाउनका लागि कतिपय परिवार आफ्नो पुख्र्यौली सम्पति बेच्न पनि बाध्य हुन्छन् ।

दाइजो प्रथाको आर्थिक भन्दा पनि सामाजिक र मनोवैज्ञानिक पाटो अझ विकराल छ । छोरा जन्मदा खुशी हुने परिवारमा छोरीको आगमन हुँदा दुखी हुन्छन् । दाइजोको लागि अब जोहो गर्नुपर्ने पनि छोरी जन्मिएकै दिनबाट सुरु हुन्छ । अर्को शब्दमा भन्नु पर्दा छोरीमाथिको लैंगिक विभेद गर्भबाटै सुरु हुन्छ ।

भ्रूँणहत्यामा भएका अनुसन्धानहरुले अधिकांस भ्रूँणहरु बालिकाको भएको पुष्टि गरेको छ । यसको प्रमुख कारण पनि दाइजोको मनोवैज्ञानिक आतंक नै हो । त्यसैगरि ,दाइजोको तराजुमा सामाग्रीसँगै तौलिएकी बेहुलीलाई म एक पुरुष समान छैन भन्ने सन्देश दिइरहेको छ दाइजो प्रथाले ।

यो दृश्य देखेर हरेक अविवाहित केटाले आफु ‘सुपेरियर’ भएको र हरेक अविवाहित केटीले आफू ‘इन्फेरियर’ भएको महशुस गर्छन् । यसर्थ असमान ‘जेन्डर आइडेन्टिटी’ अर्थात लैंगिक पहिचानको निर्माण गर्न दाइजो प्रथाले भूमिका खेलेको छ ।

त्यसैगरि दाइजोले सामाजिक समस्या एंव विकृति निम्त्याउन पनि ठूलो भूमिका खेलेको छ । बेहुली पक्षलाई दाइजोको रकम जुटाउनलाई भ्रष्टाचार तथा हिंसाजस्ता कुकर्म गर्न बाध्य हुनुपरेको पनि विभिन्न घटनाक्रमले पुष्टि गरेको छ ।

अर्को भयानक कुरा त, दाइजो विवाहको दिनमा मात्र सकिन्न । त्यसलाई पनि सामाजिक र पारिवारिक प्रतिष्ठाको रुपमा पनि हेरिन्छ । मानौं कुनै पनि समाजमा या परिवारमा देउरानी, जेठानी भन्दा कम दाइजो भएमा उक्त महिलामाथि विभेद गरिन्छ र त्यसैले पिडा निम्त्याउँछ । उनी पारिवारिक रुपमा बहिस्कृत हुनुपर्ने हुनसक्छ । यसका साथै यो विषयले घरझगडा पनि निम्त्याउन सक्छ । यसले अबोध बालबालिका माथि नकारात्मक असर पर्न जानुकासाथै कहिलेकाहीँ हत्या हिंसा पनि निम्त्याउन सक्छ ।

यसर्थ आज सबैले भन्नुपर्छ की, दाइजो प्रथा होइन, यो एक कुप्रथा हो । यो एक सभ्य समाजको बाधक हो । यसको निवारणका लागि विभिन्न नियम कानून पनि नबनेका होइनन् । नेपालको संविधान २०६२ ले महिलालाई आर्थिक, सामाजिक तथा राजनैतिक रुपमा समान हुुनुपर्ने परिकल्पना गरेको छ ।

यसरी लैंगीक समानताको बाटोमा हिँडेको समाजमा विवाहको समयमा भने दाइजो प्रथालाई प्रथलनमा ल्याइनु आफैँमा विरोधात्मक हो । त्यसैले कानूनका पन्नाहरुमा मात्र सिमित नभई व्यवहारमै हामीले दाइजो कुप्रथालाई समाजबाट निराकरण गर्नुपर्ने आजको आवश्यक्ता हो ।


(लेखक बाल विवाह तथा दाइजो उन्मूलन राष्ट्रिय अभियान नेपालका  सद्भावना राजदूत हुनुहुन्छ )

दार्इजाे भ्रुणहत्या

विशेष