समाज

जोखिममा रहेका बालबालिकालाई आर्थिक सहयोग

जोखिममा रहेका बालबालिकालाई आर्थिक सहयोग
माघ–१६ । जोखिममा रहेका बालबालिकालाई जिल्ला बालकल्याण समितिले आर्थिक सहयोग गरेको छ । जीविकोपार्जनसँगै बालबालिकालाई पढाइमा सहयोग पुर्याउने उद्देश्यले १५० जना बालबालिकालाई आर्थिक सहयोग गरिएको हो । बालकल्याण समिति सिन्धुलीले जिल्लाभर गरेको सर्वेक्षणअनुसार चार हजार ५०० बालबालिका जोखिममा रहेको जिल्ला बालकल्याण समिति, सिन्धुलीले जनाएको छ । जोखिममा परेका बालबालिकामध्ये उच्च जोखिमा रहेका १५० जना बालबालिकालाई जनही रु पाँच हजारका दरले रकम वितरण गरेको समितिका सूचना व्यवस्थापन अधिकृत लोकहरि आचार्यले जानकारी दिए । उनका अनुसार बाबुआमा दुवै नभएका एक्ला, परिवारबाट अलग्गिएका र आर्थिक अवस्था नाजुक भएका बालबालिकालाई रकम प्रदान गरिएको छ । जिल्ला बालकल्याण समिति, सिन्धुलीले जिल्लाका विभिन्न स्थानमा रहेका बालबालिकालाई विभिन्न सहयोग गर्दै आएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि युनिसेफको सहयोगमा जिल्ला बालकल्याण समिति, सिन्धुलीमा सञ्चालित बालसंरक्षणसम्बन्धी आपत्कालीन परियोजनामार्फत बालबालिकालाई पढाइमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको समितिका अधिकृत आचार्यको भनाइ छ । अघिल्लो वर्ष ९५७ जना बालबालिकालाई रकम वितरण गरेको समितिले यसवर्ष करिब २०० जनालाई मात्र रकम वितरण गर्ने जनाएको छ । रासस

आर्थिक सहयोग बालबालिका

विशेष