समाज

मधेस-पहाडको दुरी बढाएर एमालेले अस्थिरता निम्त्याइरहेको छ : उपप्रधानमन्त्री निधि

मधेस-पहाडको दुरी बढाएर एमालेले अस्थिरता निम्त्याइरहेको छ :  उपप्रधानमन्त्री निधि
माघ–१६ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो लोकप्रियता बढाउनका लागि एमालेले राष्ट्रियताका विषयमा भ्रम फैलाएको आरोप लगाएका छन् । पर्वतको कुश्मास्थित सहिदस्मारक आवासीय माध्यामिक विद्यालयमा अार्इतबार आयोजित रजतजयन्ती समारोहमा उनले भने 'एमालेले सङ्घीयता नचाहेकाले अनावश्यक भ्रम फैलाउने काम गरेको छ ।' उपप्रधानमन्त्री निधिले मधेसलाई अर्को देशको देख्ने र हिमाल पहाडको दुरी बढाएर मुलुकमा अस्थिरता ल्याउने काम एमालेले गर्न खोजेको बताउँदै मधेसीले उठाएका जायज मागसमेत एमालेले पूरा गर्न नखोजेको धारणा व्यक्त गरे । 'संविधानको पूर्ण कार्यान्वयनका लागि मुलुकमा निर्वाचन गर्नुपर्ने अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता हो', उनले भने, 'निर्वाचन गराउनका लागि भए पनि संविधान संशोधनमा सघाउन एमालेलाई छ ।' नेपाली काङ्ग्रेसका नेतासमेत रहेका उपप्रधानमन्त्री निधिले ‘संविधान संशोधनका लागि एमालेले पछिल्लो समयमा देखाएको लचकता सकारात्मक भएको बताउँदै संविधान कार्यान्वयनका लागि आगामी २०७४ माघ ७ गतेभित्र तिनै तहको निर्वाचन सक्नुपर्ने भएकाले सोहीअनुरुप लाग्न कार्यकर्तालाई निर्देशन दिए । संविधानको पूर्ण कार्यान्वयनका लागि आगामी एक वर्षभित्रमा सबै तहको निर्वाचन गर्ने तयारी सरकारको छ, उनले भने, 'निर्वाचनका लागि आवश्यक पर्ने कानुनको संशोधन गर्नुपर्ने भएकाले त्यससम्बन्धी विधेयक संसद्मा पेस गरिएको र केही दिनभित्रैमा त्यसले मूर्तरुप पाउनेछन् ।' उपप्रधानमन्त्री निधिले सबै तयारी सकेर सरकारले वैसा वा जेठको पहिलो सातामा नै चुनाव हुने मिति घोषणा गर्ने पनि बताए । तत्कालीन नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतले हस्ताक्षर गरेका विषय नै संशोधनका लागि दर्ता गरिएको बताउँदै उनले आफूले गर्दा राष्ट्रघात नहुने र आफू सरकारबाहिर रहेका बेला सत्ताधारी पार्टीले संशोधन दर्ता गराउँदा राष्ट्रघात भयो भन्नु जायज नभएको धारणा व्यक्त गरे । उपप्रधानमन्त्री निधिले एमालेले अनावश्यक रुपमा संविधान संशोधनको विषयलाई उचालेको टिप्पणी गर्दै नागरिकता र भाषाका विषयमा पनि सहमतिमा संशोधनलाई परिमार्जन गर्न सकिने बताए । यसअघि उनले धौलागिरिका एकमात्र सहिद गोविन्दनाथ शर्माको सालिकमा माल्यार्पण गरेका थिए। सो अवसरमा उनले मुलुकका निम्ति बलिदानी दिने सहिदलाई सधैँ राज्यले सम्मान गर्ने बताए । रासस

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि मधेस-पहाड

विशेष