कभर स्टोरी

म नेपाली मुस्लिम

म नेपाली मुस्लिम

–वसिम आलम 

गोरखा, स्याङ्जा, लमजुङ तिर मुसलमानका गाउँघर पुगेर हेर्दा यो देशको सामाजिक, धार्मिक सद्भाव थाहा हुन्छ । हिन्दु पहाडी समुदायको बीचमा गएर बस्दा पनि मुसलमानहरु अटाएका छन् । ती मुसलमान मुख्य रुपमा नेपाली बोल्छन्, ढाका टोपी लगाउँछन् हेर्दा दुरुस्त पहाडी जस्ता लाग्छन् तर हुन् मुसलमान ।

स्थानीय पहाडी मान्छेहरुले ती मुसलमानहरुलाई सम्बोधन गर्दा उमेरअनुशार दाई, भाई, काका, ठूलाबा जस्ता शब्दले सम्बोधन गर्छन् । हिन्दु मुसलमान एकै ठाउँमा बस्दा पनि त्यो क्षेत्रमा कहिले पनि कुनै दंगा, द्वन्द्व भएको सुनिएको छैन । यो भन्दा सुन्दरतम् सामाजिक सद्भावको अर्को के उदाहरण हुन सक्छ ?

पहाडमा बस्ने मुसलमानको जनजीवन पहाडीहरुकै जस्तो छ । मधेस तराईका मुसलमानको शैली मधेसीको जस्तो छ । कोही हिन्दी, कोही उर्दु, कोही नेपाली बोल्छन् । नेपालका विभिन्न जिल्लामा मुसलमान बस्छन् । मुसलमान अल्पसंख्यामा छन् । यसकारण नेपालका मुसलमानलाई मधेसीमा राखिन्न । अल्पसंख्यकमा राखिएको छ । आफ्नो राजनीतिक फाइदाका लागि मधेसी दलहरुले हामी मुसलमानलाई जबर्जस्ती मधेसी बनाउन खोजेका छन् । सबै आधार र अवस्थाले नै देखाउँछ मुसलमान पहाडी मात्रै होइनन्, तराईबासी मात्रै होइनन् । मधेसी त हुँदै होइनन् । पहिले नेपाली हुन् त्यसपछि अल्पसंख्यक हुन् । हामी मुसलमानको बेग्लै पहिचान छ भने हामीलाई अरु कसैले जबर्जस्ती पहाडी, मधेसी बनाउन नखोजोस् ।

जाति, धर्म, समुदायबीच भाँजो हालेर राजनीतिक फाइदा लिन खोज्नेहरुले यो देशलाई हेर्दा हेर्दै कस्तो बनाइसके वर्णन गरिरहन पर्दैन । केही राजनीतिक दलहरुले जे जसरी हामीलाई भिडाउन खोज्छन्, हामी नेपाली ठीक विपरीत छौं । उनीहरुले भिडाउन खोज्छन् हामी मिलेरै बस्न खोज्छौं । गलत नियत भएकाहरुको बहकाउमा लाग्ने हो भने टीकापुरको जस्तो घटना हरेक जिल्ला, हरेक गाउँमा हुने थियो । किनभने टीकापुरमा कसरी नेताहरुले जनता भड्काएका थिए त्यो त सबैलाई थाहा नै छ । यस्ता नेताहरुले हामीलाई एक आपसमा मर्न र मार्न उक्साउँछन् ।

अहिले मधेसमा एउटा भ्रम फैल्याइएको छ । त्यो भ्रम हो नेकपा एमाले,एमालेका अध्यक्ष केपी ओली मधेस विरोधी हुन् भन्ने । हामी सबैलाई थाहा छ, मधेसी मोर्चाका नेता कार्यकर्ताले अध्यक्ष केपी ओलीलाई नश्लवादी भनेर आलोचना गर्छन् । एमालेलाई मधेस विरोधी भनेर आलोचना गर्छन् । एमालेका नेताको आलोचना गर्दा त्यो पहाड र हिमाल विरोधी हुन्छ ? अवश्य पनि हुँदैन । तर मधेसी मोर्चामा भएका जनताले नरुचाएका, सत्ताको भोग गरेर आजीवन मधेसी जनतालाई ठगेका, हरुवा नेताको आलोचना गर्दा एमाले मधेस विरोधी कसरी हुन्छ ?

एमालेले त मधेसी मोर्चाका जमिन्दार, तराईका शोषक नेताको त उछितो काड्छ । अझै पनि भन्डाफोर गर्छ । जो धोती कुर्ता लगाएर सच्चा मधेसीको मसिहा हुँ भनेर तराईमा ताण्डव मच्चाइरहेका यी कुनै नेतालाई पनि एमालेले राजनीतिक रुपले बाँकी राख्दैन । वर्षौसम्म सत्ताको रसमा डुबेकाहरुले अहिले मधेसी मधेसी भन्दै जनता भड्काइरहेका छन् । यस्ता मधेसविरोधी, मधेसी जनतामारालाई त एमालेले मधेसबाट मुक्त गर्छ । यसमा ढुक्क भए हुन्छ । इतिहास पल्टाएर हेरे हुन्छ, एमालेको शासनकालमा भन्दा बढी बजेट मधेसमा अहिलेसम्मकै कुनै सरकारले पठाएको छैन । तर हल्ला त यस्तो छ कि एमाले भनेको मधेसविरोधी नै हो ।

अब एउटा सानो उदाहरण दिन्छु । ६४ सालको निर्वाचनमा मधेस केन्द्रीत दललाई जनताले जिताए । आफूलाई मधेसका मसिहा हुँ भन्नेहरुले श्रीमती, साली, गर्लफ्रेन्डलाई समेत सभासद बनाए । गृह, भौतिक योजना, स्वास्थ्य, रक्षा, परराष्ट्र, स्थानीय विकास जस्ता मन्त्रालयमा उनीहरुले मस्ती गरे । आफ््नालाई जागिर खुवाए । मधेसको नाममा सिन्को भाँचेनन् । अर्को चुनावमा तिनै नेतालाई मधेसकै जनताले पराजित गरिदिए ।

पार्टीको नाममा ‘मधेसी’,‘तराइ’ ‘फोरम’ जोडिएको छ । नाम मधेसमैत्री जस्तो लाग्छ, तर व्यवहार मधेसीमारा छ । नामले होइन कामले एमाले मधेसको हित चाहने, मधेसको विकास चाहने पार्टी हो ।

आफूलाई मधेसका मसिहा भन्ने महन्थ ठाकुरकै कुरा हेरौं न । सम्धिनीलाई सांसद, सम्धिलाई महामन्त्री बनाएका छन् । बाँकी पनि उस्तै हो । मधेससँग, मधेसी जनतासँग, पार्टीको सिद्धान्तसँग कहिँ कतै सम्बन्ध नभएका शिक्षाका व्यापारी बाबुराम पोख्रेल फोरम लोकतान्त्रिकबाट सभासद भए । समावेशी प्रतिनिधित्व पठाउनै पर्ने बाध्यकारी अवस्थामा महिलाको कोटामा मधेसी जनता होइन सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले आफ्नै पत्नी शैलदेवी महतोलाई सभासद बनाए ।

यी सब मधेस र मधेसीको नाममा आफ्नै डम्फू बजाउनेहरु हुन् । यीनलाई मधेसका जनताले मन पराउँदैनन् । संविधान संशोधन गर्नुपरे मधेसका जनताले भने बमोजिम गर्ने हो यी नेताले भनेको किन मान्ने ? यी जनताका प्रतिनिधि नै होइनन् भनेपछि यीनले भनेको मान्नु पर्ने किन ?

तराई मधेसमा जो सदियौंदेखि पुस्तौदेखि बस्दै आएका छन् उनीहरुले कहिले र कहाँ नागरिकता पाएनन् ? सबैले पाएका छन् । जहाँसम्म अधिकार र आत्मसम्मानको कुरा छ त्यो विषयमा त हामी लडिरहेका छौं । ढाका टोपी लगाउने बित्तिकै राष्ट्रवादी हुने, धोती कुर्ता लगाउने बित्तिकै मधेसवादी हुने हुँदैन । भ्रष्टाचार गरेर जेल जाने धेरैजसो ढाका टोपी लगाउने नै छन् । टोपी र धोती देशभक्तिको मानक हुँदैन । यी कपडा हुन् । कपडा जस्तो लगाए पनि राष्ट्रियता र देशभक्ति मनमा हुन्छ । देशभक्तिको भावना हुनेले देश जोड्न खोज्छ, तोड्न खोज्दैन ।

(लेखक नेकपा एमाले निकट अनेरास्ववियुका सचिव  हुन्)

विशेष