देश

व्यवसायिक तरकारी खेतीबाट भद्रबहादुरको पारिवारीक जीवन बदलिदै

व्यवसायिक तरकारी खेतीबाट भद्रबहादुरको पारिवारीक जीवन बदलिदै
माघ – १७ । जाजरकोट भेरीमालिका नगरपालीकाका किसानहरु व्यवसायिक तरकारी खेतीमा आर्कषित हुन थालेका छन् । कृषकको व्यवसायिक तरकारी खेतीबाट पारिवारीक जीवन बदलिन थालेको छ । सिजन तथा अफसिजनमा व्यवसायिक तरकारी खेती गरेर आर्थिक रुपमा लाभ हासिल गर्न सफल भेरीमालिका नगरपालीका–१ कालेगाउँका भद्रबहादुर वटाला हुन् ।

२०४३ सालमा जिल्ला कृषि शाखा कार्यालयवाट पिडालु खेतिमा पाएको सानोतोना कृषि पुरस्कारको हौसलावाट आफू व्यवसायिक रुपमा तरकारी खेती गर्न लागेको वटालाले बताए । तरकारी खेतीको आम्दानीबाट नै उनले खलंगामा घर बनाउन सफल भएका छन् । पाँच रोपनी जग्गामा व्यवसायिक तरकारी खेतीको आम्दानीबाट २०६० सालमा ६ लाख रुपैया खर्च गरेर वटाला घर बनाउन सफल भएका हुन् । ०६६ सालमा ८ लाख खर्च गरेर कालेगाउँमै वटालाले नयाँ घर बनाएका छन् भने, तरकारी खेतीबाटै भएको आम्दानीले कालेगाउँमा ८ रोपनी जग्गा पनि जोडिसकेका छन् । २० बर्षदेखि व्यवसायिक तरकारी खेती गरिरहेका वटालाले तरकारी खेतीकै आम्दानीबाटै जेठो छोरा ईन्द्रबहादुर वटालालाई कृषि जेटिए पढाए । हाल जेठो छोराका लागि ब्वाईलर कुखुरा फाराम खोलि दिएका छन् । कान्छो छोरा योगेन्द्र बटालालाई सुर्खेतमा अमिन पढाई रहेका छन् । त्यसैगरी जेठी छोरी कमला बटालालाई बीएड पढाई सकेका छन् भने, कान्छी छोरी पुतला बटालालाई कक्षा १२ सम्म पढाई सकेका छन् । २०४३ साल देखि ४७ साल सम्मका प्रवेशिका परीक्षामा उर्तिणा हुन नसकेका वटाला २०७० सालमा सिटीभिटीले लिएको कृषि प्राविधिक परीक्षामा सहभागि भएर लेभल एकको परीक्षामा उर्तिणा भएका छन् । तरकारी खेतीको अनुभव हासिल गरिसकेकाले सिटीभिटीको परीक्षामा सहभागि हुन गाह्रो नभएको उनले परीक्षा दिदाको अनुभव सुनाए । झण्डै १५ रोपनी जग्गा भएका बटालाले ५ रोपनीभन्दा बढी जग्गामा तरकारी खेती गर्न नसकेको दुखेसो पोखे । तरकारी खेतीमा काम गर्ने जनशक्ति अभावका कारण ५ रोपानी जग्गामा मात्र तरकारी खेती गर्नु परेको उनको भनाई छ । तरकारी खेती गरी रहेका किसानहरुका मुख्य समस्या तरकारीमा लाग्ने रोग र किराहरुको नियन्त्रण गर्न नसक्नु नै रहेको वटालाले बताउँछन् । उनले बजार तथा उपभोक्ताहरुको मागअनुसार तरकारी खेती गर्न नसक्नु किसानहरुमा देखिएको कम्जोरी रहेको बताए । सानो बजारमा देखासिकि गरी कृषि उत्पादन गर्ने तरिकावाट किसानहरुले लाभ हासिल गर्न नसक्ने वटालाको तर्क छ । आफूले मौसमी तरकारी खेतीमा काउली, बन्दा, टमाटर, आलु, प्याज, धनिया, लसुन उत्पादन गर्ने गरेको वटालाले बताए । त्यसैगरी बेमौसमी तरकारी खेतीमा काँक्रा, भण्टा, पिरो खुर्सानी, इस्क्वाईस आदि तरकारीहरु उत्पादन गर्ने गरेको जानकारी दिए ।
दीपबहादुर घर्ती / जाजरकोट

तरकारी खेती

विशेष